अफगानिस्तानको सानदार जितपछि राशिद खानले दिए भावुक सन्देश

एजेन्सी । यूएई र ओमानमा जारी सन् २०२१ को टी–२० विश्वकप क्रिकेटमा सोमबार भएको खेलमा अफगानिस्तानले स्कटल्यान्डविरुद्ध शानदार जित हात पारेकाे छ । जितपछि अफगानिस्तानका अनुभवी खेलाडी राशिद खानले भावुक सन्देश दिएका छन्। उनले यो शानदार जितले अफगानिस्तानका जनताको अनुहारमा खुसी ल्याएको बताएका हुन्।

राशिद खानले ट्वीट गर्दै लेखेका छन्, ‘राम्रो सुरूवात सबैलाई बधाई छ। र, विशेष गरी अफगानिस्तानको झन्डा स्वदेश फर्केका मानिसहरूलाई।

मलाई आशा छ, यो जितले तपाईलाई मुस्कान र उत्सव मनाउने कुरा दिएको छ। हामी सबैभन्दा राम्रो गर्नेछौं र देश र राष्ट्रलाई अझ गर्व गर्नेछौं। तपाईंको प्रार्थना र समर्थन सधैं अफगानिस्तानको प्रमुख झन्डा हो, अफगानिस्तान जिन्दावाद।

https://twitter.com/rashidkhan_19/status/1452711463072714759

सोमबार भएको सुपर १२ अन्तर्गत आफ्नो पहिलो खेलमा स्कटल्यान्डविरुद्ध अफगानिस्तान एक सय ३० रनले विजयी भएको थियो। शारजाहमा अफगानिस्तानले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १० ओभर दुई बलमा सबै विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो।

उसका लागि जर्ज मुन्सेले २५, क्रिस ग्रीभ्सले १२ र कप्तान काइल कोएट्जरले १० रन बनाए।

बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

अफगानिस्तानका लागि मुजीब उर रहमान र राशिद खानले घातक बलिङ गरे।  रहमानले ४ ओभरमा मात्र २० रन खर्चिएर ५ विकेट लिए ।

यस्तै,राशिदले दुई ओभर दुई बलमा नौ रन दिएर चार विकेट लिँदा नवीन उल हकको नाममा एक विकेट रह्यो। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९० रन बनाएकाे थियो।

उसका लागि नजिबुल्लाह जद्रान र रहमानउल्लाह गुर्बाजले शानदार ब्याटिङ गरे। जद्रानले ३३ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५९ रन बनाउँदा गुर्बाजले ३७ बलमा चार छक्का र एक चौकासहित ४६ रनको योगदान दिए।

यस्तै, मोहम्मद शहजादले २२, हजरतुल्लाह जाजाईले ४४ र कप्तान मोहम्मद नाबीले नटआउट ११ रन जोडे। बलिङमा सफायान सरिफले दुई तथा जोश डेभी र मार्क वाटले १–१ विकेट लिए।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.