आगामी चुनावमा एमालेकाे ६० प्रतिशतले विजयी हुने विष्णु पौडेलकाे दाबी

बुटवल । एमाले उपमहासचिव विष्णु पौडेलले अबको तीनै तहको चुनावमा आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढी नतिजा ल्याउने दाबी गरेका छन् ।

रुपन्देहीमा पार्टीको तिलोत्तमा नगर कमिटीको प्रथम नगर अधिवेशनको मंगलबार उद्घाटन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले एमाले एक्लै चुनाव लडेर ६० प्रतिशत नतिजा ल्याउने बताएका छन् । पौडेलले स्थानीय तह, प्रदेश, संघीय संसदमा ६० प्रतिशत सिटमा एमालेले विजय हासिल गर्ने दाबी गरेका हुन् ।

‘सत्तारुढ पाँचदलीय गठबन्धनका विरुद्ध एमाले एक्लै चुनाव लड्छ र अघिल्लो चुनावभन्दा बढी नतिजा हासिल गर्छ।’ उनले भने, ‘तीनै तहको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी नतिजा ल्याउँछौं ।’

पार्टी कब्जा गर्ने र समाप्त गर्ने षडयन्त्रलाई कार्यकर्ताले असफल तुल्याएको भन्दै उपमहासचिव पौडेलले केही नेता चोइटिएर गए पनि एमाले एकढिक्का रहेको दाबी गरे । ‘एमाले विभाजित भएको छैन, एकतावद्ध छ, यसको पुष्टी आगामी निर्वाचनले गर्ने छ ।’ उनले भने ।

एमाले केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीले वडा अधिवेशनले देशव्यापी रूपमा पार्टी एकताको सन्देश दिएको र स्थानीय तहको अधिवेशनले यसलाई अझ फराकिलो पार्ने बताए ।

रुपन्देही एमाले इन्चार्ज दधिराम न्यौपानेले पार्टीलाई अझ संगठित, चुस्त दुरुस्त र बलियो बनाएर लैजाने जिम्मेवारी कार्यकर्ता पंक्तिमा आएको भन्दै, यो जिम्मेवारीलाई पार्टीका सबै कमिटीले पूरा गर्ने विश्वास व्यक्त गरे ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.