काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले हिजो आफ्नो नेतृत्वको सरकार ढाल्नेहरु आज पोल खोला-खोलमा उत्रिएको आरोप लगाएका छन् ।
मंगलबार नेकपा एमालेको पालिका अधिवेशन उद्घाटन गर्ने क्रममा अध्यक्ष ओलीले राज्यका तीनवटै निकाय अशक्त भएको बताउँदै यस्तो आरोप लगाएका हुन् ।
न्यायाधीश आफैँ पोल खोला–खोलमा उत्रिएको बताउँदै उनले संसद् र सरकार सम्पूर्ण रूपमा असफल भएको आरोप लगाए ।
‘राज्यका निकायहरू मर्यादित हुनुपर्छ । शक्ति पृथकीकरणको आधारमा चल्नुपर्छ । सम्मानित अदालतले हेर्ने भनेको संविधानको प्रयोग सही भएको छ कि छैन भनेर समुचित व्याख्या गर्ने हो । हिजो पाकिस्तानी शैलीमा परमादेशबाट सरकार बनाउने र हटाउने कुरा गरियो । अहिले श्रीमान् न्यायाधीशहरु नै विगतमा कसले के–के गर्नु भएको थियो भनेर उधिन्न थाल्नु भएको छ ।’
ओलीले भने उधिनिंदै जाँदा के–के रहेछ, भन्ने देखिन थालेको छ । पाँचैजनाले परमादेश जारी गरेर देशलाई यो हालतमा पुर्याउनु भएको हाे । एक जनाले किन राजीनामा गर्नु हुन्छ ? पाँचैजनाले राजीनामा गरे हुन्न ।