सेनाले जाजरकोटमा बनायो, रातमा अवतरण गर्न मिल्ने हेलिप्याड

जाजरकोट । जाजरकोटमा नेपाली सेनाले रातमा पनि हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ ।

सेनाको चन्दननाथ गणले श्रमदानसहित नौ लाखमा रात्रीकालीन हेलिप्याड निर्माण गरेको हो ।

चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेका अनुसार भेरी नगरपालिकाको सहकार्यमा हेलिप्याड निर्माण भएको हो ।

पटक-पटक बाढी पहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएको जाजरकोटले उद्धार तथा व्यवस्थापनमा रुकुमको चौरजहारीस्थित विमानस्थल प्रयोग गर्दै आएको थियो ।

हेलिप्याड निर्माणसँगै अब जिल्ला भित्रबाट उद्धार तथा राहतका कामहरू रात्रीकालीन अवस्थामा सजिलै गर्न सकिने भएको छ ।

सुरक्षा एवं हेलिप्याडको हेरचाहका लागि सेना अग्रसर हुने भएकाले हेलिप्याड गणभित्र निर्माण गरिएको छ ।

श्री नम्बर चार बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले हेलिप्याड उद्घाटन गरी विधिवत् रुपमा सञ्चालनमा आएकाे छ ।

अघिल्लो वर्ष बारेकोट गाउँपालिका–४ सार्कीटोलमा बाढी पहिरोबाट भएको मानवीय क्षतिको समयमा समेत सेना नै घटनास्थलमा पहिला पुगेको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.