जिप्रका रसुवामा बढ्यो सेवाग्राहीको चाप

रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवामा सेवाग्राहीको चाप बढेको छ । नेपालीहरूको महान् चाड बडा दशैं सकिएर कार्यालय खुलेसँगै नागरिकता र राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय रसुवामा सेवाग्राहीको चाप बढेको हो ।

सेवाग्राहीको चाप बढेसँगै साँझ अबेरसम्म सेवा प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । डिभी भर्न र वैदेशिक रोजगारको लागि राहदानी बनाउनेको चाप बढेपछि कार्यालयले सेवा अवधि बढाएको उनले बताए ।

सेवाग्राहीको चाप बढेपछि बेलुकी सवा ६ बजेसम्म सेवा प्रवाह भइरहेको उनले बताए । ‘कार्यालयको समयावधि सकिए पनि सेवाग्राही धेरै टाढाबाट आइरहनु भएको हुन्छ । कार्यालय समयावधि सकिए पनि सेवाग्राही रहुन्जेलसम्म हामीले सेवा दिइरहेका छौँ’, उनले भने ।

पछिल्लो समय दैनिक एक सयभन्दा बढी सेवाग्राही कार्यालयमा आइरहेका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताइन् । ‘दैनिक एक सयभन्दा बढी सेवाग्राही आइरहनु भएको छ । नागरिकता, पासपोर्ट बनाउने धेरै छन्’, उनले भनिन् ।

कार्यालयले १६ कात्तिकदेखि १५ माघसम्म  विहान १० बजेदेखि चार बजेसम्म र बाँकी महिना विहान १० बजेदेखि साँझ पाँच बजेसम्म सेवा प्रदान गर्ने गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.