काठमाडौं । बलिउड निर्देशक तथा अभिनेता महेश माञ्जरेकर क्यान्सरमुक्त भएका छन् । ६३ वर्षीय महेशले आफू निर्देशित नयाँ फिल्म ‘अन्तिम–दि फाइनल ट्रुथ’ को टेलर सार्वजनिक कार्यक्रममा आफूले क्यान्सरलाई जितेको बताएका हुन् ।
उनले सुटिङका क्रममा क्यान्सर लागेको थाहा पाएको र त्यसपछि उपचार सुरु गरेको थिए । ‘सुटिङ चलिरहेको थियो । एकदिन मलाई निकै असहज महशुस भयो । त्यो पीडा निरन्तर चल्यो । चेकअप गराउँदा क्यान्सर देखियो ।’ उनी भन्छन्, ‘आफूलाई क्यान्सर लागेको थाहा पाएर म आत्तिनँ । मैले त्यसलाई स्वीकार गरेँ र उपचारमा लागें । किमोथेरापी लिँदै फिल्म निर्देशन गरें ।’ उनलाई मुत्राशयको क्यान्सर भएको थियो ।
दुई महिना अघि गरेको सर्जरीले आफू पूर्ण रूपले क्यान्सरमुक्त भएकाे उनले बताएका छन् । क्यान्सरले आफ्नो ३५ किलो तौल घटेको उनले सुनाए ।
सन् १९९२ मा प्रदर्शन भएको मराठी फिल्म ‘जीवा सखा’ बाट अभिनय यात्रा सुरु गरेका महेशले त्यसपछि मराठीका साथै ‘प्लान’, ‘जिन्दा’, ‘मुसाफिर’, ‘काँटे’, ‘दस कहानीयाँ’, ‘वान्टेड’, ‘रेडी’, ‘दबंग’, ‘मुम्बई सागा’ लगायतका थुप्रै फिल्ममा अभिनय गरेका छन् ।
त्यसैगरी, उनले ‘आइ’, ‘निदान’, ‘वास्तव’, ‘विरुद्ध’ लगायतका फिल्म निर्देशन गरेका छन् ।
उनको ‘अन्तिम’ फिल्म नोभेम्बर २६ मा प्रदर्शन हुँदैछ । सो फिल्ममा सलमान खान, वरुण धवन, आयुष शर्मा, प्रज्ञा जैसवाललगायतका कलाकारले अभिनय गरेका छन् ।