काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले संसद विघटन सही थियो, भन्ने सावित भएको बताएका छन् ।
नेकपा एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको उद्घाटनका क्रममा मंगलबार पौडेलले यस्तो बताएका हुन् ।
‘अदालतको परमादेशले संसद पुनर्स्थापित भयो, सरकार पनि बन्यो तर सरकार र संसद दुबैले काम गर्न सकेका छैनन् ।’ पौडेलले भने–‘यसबाट पुष्टी हुन्छ, संसद विघटन सही थियो ।’
अबको निर्वाचनमा एमालेले तीनै तहमा कूल सिटको ६० प्रतिशत जित्ने र मुलुकमा स्थिरता कायम गर्ने दाबी गरे ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पानीको फोका भएको दाबी गर्दै उनले एमाले विभाजन भएको नभई केही स्वार्थी तत्वहरु चोइटिएर गएको बताए ।
‘एमाले विभाजित भएको छैन, एमालेको शक्ति देखेर सत्तारूढ गठबन्धन नै अत्तालिएको छ ।’ पौडेलले भने, ‘विचार, संगठन र भूमिकामा एमाले सग्लै छ ।’ प्रथम विधान महाधिवेशनले एमालेभित्र रहेका दक्षिणपन्थी र विर्सजनवादी तत्व परास्त भएको नेता पौडेलको भनाई छ।