कांग्रेस क्षेत्रीय प्रतिनिधिमा नयाँ क्रियाशील अनुहार
नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि चयन भएपछि मात्र पार्टीको उपल्लो पदमा उम्मेद्वार बन्ने पहिलो गेट खुल्छ ।

खोटाङ । २१ भदौ

नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि चयन भएपछि मात्र पार्टीको उपल्लो पदमा उम्मेद्वार बन्ने पहिलो गेट खुल्छ । त्यसैले वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि चयनका लागि घम्साघम्सी पर्छ ।

आफ्ना प्रतिपक्षीलाई ठेगान लगाउन परे सकेसम्म वडा अधिवेशनमै हराउने खेलोमेलो चल्छ । तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा भने वडास्तरका कांग्रेस नेताले युवा पुस्तालाई क्षेत्रीय प्रतिनिधि पठाएको छ ।

शुक्रबारको वडा अधिवेशनले युवालाई क्षेत्रीय प्रतिनिधि बन्ने अवसर दिने निर्णय गरेको हो । उनीहरुले एउटै व्यक्ति पटक–पटक क्षेत्रीय प्रतिनिधिका रुपमा चयन हुँदै जाने परिपाटीको क्रमभंग गरेका छन्, जसलाई कांग्रेसको वडा अधिवेशनकै दुर्लभ घट्नाका रुपमा दाबी गरिएको छ ।

अन्य वडामा क्षेत्रीय प्रतिनिधिका रुपमा मारामार भइरहेका बेला बाहुनीडाँका कांग्रेसीले भने ‘पुरानाले त्याग्ने र नयाँले अवसर लिने’ निर्णय गर्दै थिए । कतिसम्म भने यसअघिका वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चुनिएर जिल्ला अधिवेशनसम्म पुगेर भोट हालिसकेका वडाध्यक्ष रुद्र राई, कांग्रेसका निवर्तमान वडा सभापति डाकबहादुर कार्की, क्षेत्रीय सचिवका उम्मेदवार यानकुमार राईलगायतले क्षेत्रीय प्रतिनिधि हापेका छन् । युवाको प्रस्तावअनुसार सबै १७ जना नयाँ क्रियाशील सदस्यलाई क्षेत्रीय प्रतिनिधिका रुपमा पठाइएको क्षेत्रीय सचिवका उम्मेद्वार यानकुमार राईले बतए । यो अवस्था सिर्जना हुनुमा पुरानो र नयाँ पुस्ताबीचको आन्तरिक मतभेद पनि कारक देखिएको छ ।

गुटगत असरका कारण सहमतिमा क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रयास असफल बन्दै गएको थियो । वडा अधिवेशन हलमा चुनाव गरेर क्षेत्रीय प्रतिनिधि टुंग्याउन चर्को आवाज उठ्न थाले । चुनावमा जाँदा कतिपय सम्भावना बोकेका युवा गाउँमै छेकिने निश्चित थियो । त्यही भएर चुनावको सट्टा सहमतीय तरिकाले नै क्षेत्रीय प्रतिनिधि टुंग्याउन प्रस्ताव राखियो । सो प्रस्तावपछि युवा पंक्तिले सबै क्षेत्रीय प्रतिनिधिमा नयाँले अवसर पाउनुपर्ने सर्त राखे । युवाको सोही सर्तअनुसार यसअघि पुरानो क्षेत्रीय प्रतिनिधि बनिसकेका नेताले नयाँ क्रियाशील सदस्यलाई क्षेत्रीय प्रतिनिधि छाडेको यानकुमारले बताए ।

‘कांग्रेसलाई बुढाको पार्टी बनाइराख्ने, युवालाई अघि बढ्न नदिने भन्ने गुनासो आयो । ठीकै छ एकपल्ट युवालाई अवसर दिऔँ । अधिवेशनको स्वाद चखाऔँ भन्ने निर्णय गरिएको हो,’ उनले भने, ‘कतिपय युवाको तिमीहरु मात्रै अघि जाने, तिमीहरु मात्रै नेता बन्ने भन्ने गुनासो पनि छ । वडामा पनि नेतृत्व गर्ने मान्छे चाहिन्छ । हामी वडा सम्हालौँला भनेर पुरानो एकजना पनि प्रतिनिधि दोहोरिएनौँ । वडामा गुटको असर नपरोस् भन्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।

क्षेत्रीय प्रतिनिधि नगएका पुराना प्रतिनिधिले स्थानीय तहको चुनावमा लड्ने समझदारी बनेको छ । यसअनुसार आगामी स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष राई, निवर्तमान वडा सभापति कार्की र क्षेत्रीय सचिवका उम्मेदवार राईमध्येबाट एकजना वडाध्यक्षका उम्मेदवार बन्ने छन् । यानकुमारले यसपल्ट पनि क्षेत्रीय सचिवमा उम्मेदवारी दिने तयारी गरेका थिए । उनको टिममा पर्ने पनि निश्चित जस्तै भएको थियो । तर, क्षेत्रीय प्रतिनिधि नबन्दा उनले क्षेत्रीय सचिवमा उठ्न पाउने छैनन् ।

वडा सभापतिमा दाजुभाइकै भीडन्त

जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा कांग्रेसको वडासभापतिमा एकाघरका दाजुभाइबीचमा रस्साकस्सी चलेको छ । दाजु दिलीप राई र भाइ दिपक राईबीचमा वडा सभापतिका लागि रस्साकस्सी चलेको हो । चुनाव हुने स्थिति आएपछि अन्तिममा दाजु दिलीप पछाडि हटेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.