चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत मंगलबार चितवनका सातमध्ये पाँच पालिकामा अधिवेशन सम्पन्न भएको छ ।
मंगलबार विवादका बीच खैरहनी नगर कमिटी घोषणा गरियो भने अन्य पालिकाको अधिवेशन बुधबारसम्मका लागि स्थगित गरिए । भरतपुर महानगरमा १५ कात्तिकमा अधिवेशन हुनेछ । इच्छाकामनामा बुधबार हुँदैछ ।
गाउँ र नगर कमिटीको नेतृत्व चयन गर्ने विषयमा विवाद देखिएको ठाउँमा सहमतिको प्रयास जारी रहेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् । ‘पालिकाको नेतृत्वदेखि विभिन्न पदमा साथीहरूले इच्छा जाहेर गर्नु भएको छ । हामी छलफलमा नै छौँ । अझै केही समय लाग्छ ।' उनले भनिन्, ‘खैरहनीको विवाद समाधानका लागि पनि छलफल गर्दैछौँ ।’
खैरहनीमा असन्तुष्ट पक्षले समानान्तर नगर कमिटी घोषणा गरेका छन् । खैरहनीमा वडा कमिटी गठनदेखि नै चरम विवाद देखिएको थियो । एमालेभित्र विगतमा माधवकुमार नेपाल निकट मानिएका उम्मेदवारलाई वास्तै नगरी ओली पक्षले एकलौटी रूपमा नगर कमिटी घोषणा गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।
सहजीकरण कार्यदल संयोजक जेएन थपलियाले मंगलबार पूर्णबहादुर डल्लाकोटीको अध्यक्षतामा नगर कमिटी घोषणा गरे लगत्तै कार्यदल सदस्य केशव कँडेलले सो घोषणा एकलौटी भएको भन्दै समानान्तर कमिटी घोषणा गरेका हुन् ।
कँडेलले घोषणा गरेको नगर कमिटी अध्यक्षमा डल्लाकोटीको नेतृत्वमा नगर कमिटीमा उपाध्यक्ष बनाइएका छत्र सुवेदी रहेका छन् ।
डल्लाकोटी अध्यक्ष रहेको कमिटीको सचिवमा गोपाल परियार छन् । दुई सहसचिव पछि थप गर्ने गरी ५७ सदस्यीय नगर कमिटी थपलियाले घोषणा गरेका हुन् । उम्मेदवारको विषयमा थपलियाले आफूहरूसँग छलफल नै नगरी गोजीबाट चिट निकालेर कमिटी घोषणा गरी भागेको कँडेलले आरोप लगाए ।
जिल्लाले पठाएको सहजीकरण कार्यदलका संयोजकले नै एकलौटी गरेपछि आफूहरूले नयाँ कमिटी घोषणा गरिएको कँडेलले बताए । कँडेलले घोषणा गरेको कमिटीको उपाध्यक्षमा लालमणि कुँवर, सचिवमा सुन्दर मैनाली र सहसचिवमा रत्ना श्रेष्ठ र ओमनाथ भट्टराई छन् । उनले ६५ सदस्यीय नगर कमिटी घोषणा गरेका हुन् । नगर कमिटीको नामावली बुधबार पार्टी कार्यालयमा लगेर बुझाउने उनले बताए ।
रत्ननगर नगरपालिका नगर कमिटीमा सहमति जुट्न नसकेपछि बुधबार (आज) सम्मको लागि अधिवेशन स्थागित गरिएको छ । अध्यक्षमा ईश्वरीप्रसाद अर्याल र प्रताप डल्लाकोटी, उपाध्यक्षमा लोकराज भुषाल, अशोक दराई, सीताराम पोखरेल र पुष्प जोशी, सचिवमा शिवराज सुवेदी र किशोर खनाल, उपसचिवमा सागर मिश्र, अमित गुप्ता, अर्पणा तिवारीलगायत आठ जनाको उम्मेदवारी परेको छ ।
राप्ती नगरपालिकामा पनि सहमति नजुटेपछि अधिवेशन बुधबार सम्मको लागि स्थगित भएको छ । माडीमा नगर कमिटीको अध्यक्षमा चार जना उम्मेदवार उठेपछि बुधबार सहमतिको प्रयास गरिँदै छ । माडी नगर कमिटीको अध्यक्षमा वर्तमान नगर कमिटी अध्यक्ष रेशम आचार्य, नारायण अधिकारी, रामेश्वर चौधरी र श्रीप्रसाद दवाडीले इच्छा देखाएका छन् । कालिका नगरपालिकामा पनि सहमति जुटेको छैन ।
नेतृत्वका लागि स्थानीय सहजीकरण कार्यदलले गरेको प्रयास सफल नभएपछि जिल्ला कार्यदलले प्रयास गर्दै छ ।