एमाले आँबुखैरेनीकी अध्यक्ष भन्छिन्– महिला सक्षम छन् भन्ने पुष्टी गर्नेछु

 तनहुँ । नेकपा एमालेकाे  गाउँ तथा नगर अधिवेशन मंगलबार सम्पन्न भएको छ । यही क्रममा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सर्वसम्मत नेतृत्व चयन भएका पाँच स्थानीय तहमध्ये आँबुखैरेनीले महिला नेतृत्व पाएको छ ।

आँबुखैरेनी गाउँपालिकाकाे  अध्यक्ष बनेकी ४४ वर्षीया मिना अधिकारीको नेतृत्वमा ५३ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।

अधिकारी सर्वोच्च अदालतको निर्णयअनुसार नेकपा एमाले र माओवादी केन्द्रको एकता भंग भएपछि एमालेको गाउँ कमिटी अध्यक्ष थिइन् ।

गाउँ कमिटी अध्यक्ष बनेपछि अधिकारीले महिलाले नेतृत्व हाँक्न सक्षम रहेको पुष्टी गर्ने बताएकी छिन् । संक्षिप्त कुराकानी गर्दै उनले भनिन्, ‘मसँग आँट र साहस दुबै छ । अनुभव पनि छ । मेरो कामले महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने प्रमाणित हुनेछ ।’

उनले महिलालाई नेतृत्व दिन पार्टी पङ्तिले पनि कन्जुस्याँई गर्ने गरेको बताइन । ‘अहिलेसम्मको परिस्थितिमा कुनै राजनीतिक दलले पनि महिलालाई सहजै नेतृत्व दिएका छैनन् । एक त महिलालाई घर परिवारबाट असाध्यै कठिन छ । यी चुनौति पन्छ्याएर राजनीतिमा लागेपछि पनि पार्टीको अन्तरिक राजनीतिमा फेरि संघर्ष गर्नु पर्ने हुन्छ ।’ उनले भनिन् । अब पार्टीमा महिलाको सहभागितासँगै नेतृत्वमा पुर्याउन भूमिका खेल्ने उनको भनाई छ ।

बन्दीपुर गाउँपालिका–१ नाहालमा जन्मिएकी अधिकारीले कक्षा नौमा पढ्दा अनेरास्ववियू छैटौँमा प्रवेश गर्दै राजनीतिक यात्रा सुरु गरेकी थिइन् । उनी ०५५ सालपछि भने पार्टीको सक्रिय राजनीतिमा लागेकी थिइन् ।

एमाले गाउँ तथा नगर अधिवेशनबाट जिल्लामा कार्यकारी पदमा न्यून संख्यामा महिला सहभागिता देखिन्छ । शुक्लागण्डकी नगरपालिकामा विष्णुमाया ढकाललाई सर्वसम्मत उपसचिव बनाइएको छ । भानु नगरपालिकामा रुपा लामा उपसचिव बनेकी छन् । यस्तै व्यास नगरपालिकामा सीता पाण्डे उपसचिव बनेकी छन् ।

एमालेको ८२ वडामा अधिवेशन सकिदा शुक्लागण्डकी नगरपालिका–९ मा गीत महत र आँबुखैरेनी गाउँपालिका–२ मा सम्झना विक मात्र वडा कमिटि अध्यक्ष बनेका हुन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.