सात महिनापछि लिमीका ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको दोस्रो डोज खोप
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका स्थानीयले कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन पाउँदा बाँच्ने आश पलाएको बताएका छन् ।

सुरेस परियार 
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका स्थानीयले कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन पाउँदा बाँच्ने आश पलाएको बताएका छन् ।
चीनसँग सीमा जोडिएको लिमीका स्थानीयले आफैले कोरोनाविरुद्धको खोप माग गरेपछि जिल्लाबाट स्वास्थ्यकर्मी खोप लिएर गएका हुन् ।

नाम्खा गाउँपालिकाको ६ वडा रहेको लिमीमा तीनवटा गाउँ रहेको र सबैले कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
२०७७ फागुनमा पहिलो डोज लगाएका नाम्खा गाउँपालिका लिमीका स्थानीयले लामो समय कोरोनाको खोप लगाउन नपाउँदा निरास भइरहेका बेला दोस्रो डोजको खोप पुगेलगत्तै लगाउन पाएपछि खुसी व्यक्त गरेका छन् ।

हालसम्म नाम्खा गाउँपालिकाको लिमीका तीनवटा गाउँ नै कोरोनामुक्त छ। दोस्रो खोप लगाएपछि अब कोरोना संक्रमणको डर हटेको स्थानीयले बताएका छन् । नाम्खा गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञाछो लामाले कोरोनाको पहिलो डोज लगाएका दुई सय २९ जेष्ठ नागरिकलाई हेलिकोप्टरमा लगेर खोप लगाएको जानकारी दिए ।
हाल एक सय ४७ घरधुरी रहेको नाम्खा गाउँपालिकाका जाङ, हन्जी र तिल गरी तीनवटा गाउँ रहेको लिमीमा एक हजार दुई सय जनसंख्या रहेको नाम्खा गाउँपालिका–६ वडाध्यक्ष पाल्जोर तामाङले बताए।

© 2021 Quicknepal.com  |  All Rights Reserved.