चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल

सर्लाही । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा एमालेलाई टर्च बालेर खोज्नु पर्ने बताएका छन् ।

बुधबार सर्लाहीको लालबन्दीस्थित बोहोरेडाँडामा प्रदेशस्तरीय पुष्पलाल स्मृति पार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सिंगो नेकपा एमाले ठान्ने ओली प्रवृतिलाई घुडा टेकाएर नयाँ पार्टी गठन गरेको बताए ।

मैथिली भाषामा समेत सम्बोधन गरेका अध्यक्ष नेपालले अब भविष्य भएको एक मात्र पार्टी नेकपा (एकीकृत समाजवादी) भएको दाबी गरे ।

सम्बोधनको क्रममा अध्यक्ष नेपालले पार्टी नयाँ भए पनि कम्युनिस्ट पार्टीको असल विचार र नीति लिएर आफूहरु अगाडि बढेको बताए ।

सिधा र सोझा जनतालाई ठग्ने, चुस्ने नीति लिएका जो कसैलाई नछाडिने उनको चेतावनी थियो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली जनताको चाहनाभन्दा पनि लम्पसारवादको पछिलागेको आरोप लगाए ।

कार्यक्रमका दौरान पुष्पलालको शालिक अनावरण गरेपछि अध्यक्ष नेपालले उनको योगदानको खुलेर प्रशंसा गरे ।

कार्यक्रमको धेरैजसो समय ओलीप्रति खनिएका उनले पार्टीलाई विधि र पद्धतिमा चल्न नदिएर जथाभावी गर्ने केपी ओली को हुन्, भनेर प्रश्न समेत गरे ।

देशमा ओली प्रवृति हावी भएपछि पटक-पटक संविधानको रक्षाको लागि दिन रात लागेको स्मरण गरे ।

कामभन्दा पनि कुरो धेरै गरेर ओलीले देशका नागरिकलाई बेवकुफ बनाएको भन्दै कटाक्ष गरे । ‘काम केही गर्नु छैन ।’ उनले भने, ‘गफाडीले झै कुरामात्र गरिरह्यो ।’ जनताको मर्म र भावनाअनुसार जनताको भविश्य कोर्ने कलम लिएर नेकपा (एस) आएको उनले जिकिर गरे ।

विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार नै सर्लाही आइपुगेका अध्यक्ष नेपाल पार्क उद्घाटनपश्चात काठमाडौं फर्किएका नेकपा (एस) जिल्ला कमिटीले जनाएको हो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.