लिम्चुङबुङमा कृषि परियोजना प्रभावकारी बन्दै

उदयपुर । परम्परागत कृषि प्रणाली अपनाउँदै आएका किसानहरू अहिले बिस्तारै व्यवसायी बन्दै गएका छन् । गाउँ–गाउँका किसान निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गर्न थालेपछि ग्रामीण भेगमा आर्थिक गतिविधि बढ्न थालेको छ । पछिल्लो समय गाउँ–गाउँमा स्थानीय सरकार आएपछि कृषि आधुनिकिरणतर्फ उन्मुख हुँदै गएको देखिन्छ ।

यस्तै उदयपुरको दुर्गम लिम्चुङबुङ गाउँपालिकाका किसान अहिले व्यवसायी खेतीमा उन्मुख हुँदै गएको पाइन्छ । पालिकाले युवा वर्गलाई लक्षित गरी अध्यक्ष कृषि परियोजना सुरु गरेको छ । त्यसमा पनि वैदेशिक रोजगारबाट फर्किएका युवालाई कृषिमा आकर्षित गर्न तालिम दिँदै आइएको छ । तालिमपछि उनीहरूलाई अध्यक्ष कृषि परियोजनाबाट अनुदानको समेत व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ ।

युवा लक्षित ५० प्रतिशत कृषि अनुदान पाएपछि लिम्चुङबुङ गाउँपालिकाका युवाहरू व्यवसायी कृषि प्रणालीमा होमिएका छन् । पालिकाले युवा लक्षित कार्यक्रम राखेकोमा लिम्चुङबुङ गाउँपालिका–३ बाराहा पिप्लेका केशवकुमार खत्री हर्षित छन् । उनलाई पालिकाले कुखुरा पालन व्यवसाय गर्न ५० प्रतिशत अनुदानमा ५० हजार उपलब्ध गराएको थियो । उनी कुखुरा पालनमा अहिले गाउँकै व्यवसायी किसान बन्न सफल भएका छन् । गाउँमा बिक्री गरेर पनि बाहिर निकासी गर्ने तयारीमा उनी छन् ।

ुहामीलाई विश्वास गरेर पालिकाले अनुदान उपलब्ध गरायो । हामीले पनि अनुदानको सदुपयोग गरेर काम गरेर देखायौुं, कृषक खत्रीले भने, ‘मेरो कुरा नै गर्ने हो भने अहिले बोइलर र लोकल कुखुरा अन्यत्र सप्लाई गर्ने स्थितिमा छु ।’ ५० हजार पालिकाको अनुदान र ५० व्यक्तिगत लगानीबाट सुरु गरेको व्यवसायले अहिले राम्रो प्रतिफल दिन सुरु गरेको किसान खत्रीको भनाई छ ।

उनले अहिले लिम्चुङबुङ गाउँपालिकाको अनुदानमा खत्रीले सुपर एकीकृत कृषि तथा पशुपक्षी फर्म सुरु गरेका हुन् । उनले उत्पादित लोकल कुखुरा प्रति केजी ५५०, बोइलर प्रति केजी ३०० रुपैयाँमा बिक्री गर्दै आएको बताए । खत्रीले होम डेलिभरीको व्यवस्था पनि दिँदै आएका छन् ।

लिम्चुङबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कार्यक्रम अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उपलब्ध गराएको ५० प्रतिशत अनुदानले खत्रीले फर्म दर्ता गरेर कुखुरा पालन व्यवसाय सञ्चालन गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

खत्रीले एक लाख लागतमा व्यवसाय सुरु गरेको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताए । लिम्चुङबुङमा अध्यक्ष कृषि परियोजना लागु गरेपछि कृषकहरूको जीवन स्तर सुधार भएको छ,’ उनले भने, ‘पालिकाका युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्य अनुसार गत वर्षको गाउँसभाबाट लिम्चुङबुङ अध्यक्ष कृषि परियोजनाले स्वयं व्यक्तिलाई त फाइदा पुगेकै छ । समग्र पालिकाको उत्पादकत्वसमेत बढेको छ । कृषि अर्थात् तरकारी र मासु जन्य उत्पादनमा गाउँपालिका आत्मनिर्भर बनी सकेको छ ।

गत आर्थिक वर्षमा अध्यक्ष कृषि परियोजनाअन्तर्गत स्वदेश तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई मागमा आधारित कृषि युवा लक्षित कार्यक्रमबाट ५० प्रतिशत अनुदानमा ७५ बटा फर्मले कार्यक्रम सञ्चालन गरी रहेको छ । एकल, विपन्न, सीमान्तकृत वर्गहरूलाई मागमा आधारित व्यावसायिक खेती गर्नका लागि ७० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको पालिकाले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.