काठमाडौं । नेकपा एमालेले देशभरबाट १०औं राष्ट्रिय महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि चयन गर्ने भएको छ । ७ लाख २१ हजार संगठित सदस्यहरुबाट एमालेले १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।
विहीवार बसेको एमाले स्थायी कमिटी बैठकले प्रतिनिधिको संरचना र प्रक्रिया टुंगाएको हो । कुल प्रतिनिधिहरुको ५१ प्रतिशत समावेशी कोटाबाट आउनेछन् भने ३९ प्रतिशत खुला प्रतिस्पर्धाबाट आउने एमालेले जनाएको छ ।
प्रतिनिधि चयनमा ३३ प्रतिशत महिलासहित दलित, मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम र पिछडिएको क्षेत्रलाई समावेशी कोटा छुट्याइएको छ । भूगोलबाट १,१९६ जना, केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका निश्चित सदस्य पदेन प्रतिनिधि रहने व्यवस्था एमालेले गरेको छ ।
स्थायी कमिटीको निर्णयअनुसार हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १,५०० पार्टी सदस्य बराबर दुई खुला र एक महिला गरी ३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । त्यसमा थप हुने हरेक एक हजार सदस्य बराबर एक प्रतिनिधि थप हुनेछ ।
हरेक जिल्लाबाट एकएक जना दलित प्रतिनिधि, हरेक प्रदेशबाट मजदुर प्रतिनिधिहरु चयन हुनेछन् । हरेक जनसंगठनबाट ५/५ जना महाधिवेशन प्रतिनिधि आउने छन् भने केन्द्रीय कार्यालय र विभागहरुबाट दुई खुला र एक महिला गरी ३ जना तथा प्रवासबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् ।
प्रवक्ता ज्ञवालीका अनुसार पदेन महाधिवेशन प्रतिनिधि २६२ हुनेछन् भने ५ प्रतिशत मनोनयन गरिनेछ ।