देउवालाई प्रधानमन्त्री बनाएँ तर चितवनमा कांग्रेस कार्यकर्ता मविरुद्ध लागेका रहेछन् : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस कार्यकर्ता आफूविरुद्ध उत्रिएका टिप्पणी गरेका छन् । 

शुक्रबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधनका गर्ने क्रममा अध्यक्ष दाहालले नेकपा माओवादी र कांग्रेसको हैसियत बराबर भए पनि आफूले देउवालाई प्रधानमान्त्री बनाएको बताउँदै टिप्पणी गरेका हुन् ।

सम्बोधनमा दाहालले आफू चितवनबाट कतै नभाग्ने बताएका छन् । शुक्रबार चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्ड भाग्छ, भनेर आत्मरतिमा नरमाउन भनेका छन् ।

‘मलाई काठमाडौंमा भनिएको छ, एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालीकोट जान्छ कि बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरे ।’ उनले भने, ‘मैले अस्ति यहाँ आएर भनिसकेको छु, म कतै जान्न अब । म चितवन छोड्दिन । पहिलो कुरा कुनै भ्रम नरहोस् र त्यो आत्मघाती या आत्मरति पनि केपी ओलीहरूले नगरे हुन्छ । म भाग्ने मान्छे हुँदै होइन । त्यो कुरा ओलीजीहरूलाई राम्रोसँग थाहा छ । त्यही भएर त मलाई खोज्दै-खोज्दै आउनु भएको छ, चितवन ।’

प्रचण्डले चुनावी परिणामले कांग्रेस र माओवादी हाराहारी भए पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइएको र त्यसमा कांग्रेसका कार्यकर्ता खुसी होलान् भन्ने आफूले ठानेको भए पनि त्यस विपरीत पाएको बताए । चितवनबाट आफू र रेणुलाई लखेट्ने भाषण कांग्रेस चितवनका सभापतिले गर्नु विडम्बना भएको उनको भनाई छ ।

‘जित्न त चुनावमा कांग्रेसले भन्दा हामीले धेरै जितेका थियौं तर पनि शेरबहादुरजीलाई प्रधानमन्त्री बनायौं ।’ प्रचण्डले भने, ‘मैले सोचेको थिएँ कम्तिमा चितवन जिल्लाका कांग्रेस नेता कार्यकर्ताहरू खुशी भएका होलान् । उनीहरूले प्रचण्डलाई, माओवादीलाई धन्यवाद भन्लान् भन्ने ठानेको त माओवादी, प्रचण्ड र रेणुलाई लखेट्ने भनेर यहाँका सभापति भन्नेहरूले बोले । तपाईंहरूले सुन्नुभयो । यो त बडो विडम्बनाको कुरा भयो ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.