के छ, नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चामा ? (पूर्णपाठसहित)

विश्वेश्वर कोइरालाले काठमाडौँमा गई प्रधानमन्त्री मोहन शम्शेरलाई यही व्यहोराको विन्तिपत्र चढाएका थिए । यस्तासँग एकदम सावधान ! याद गर सामन्तवादी समाज र शासन व्यवस्था नेपालमा रहेसम्म एकाध बगुला भगते नेताहरु नेपालको शासनमा छानिएर जनताको दुःख कष्ट कम हुँदैन । यो त क्रान्तिकारी जनतालाई भूलमा पार्नु मात्र हो ।

“एकातिर नागरिक अधिकार लिई छोड्छौ” भन्ने नारा बुलन्द गर्ने सयौं–सयौं भाइहरु अहिले राणाको जेलमा सडिरहेका छन्, अर्कोतिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको सुरुमा राणा सरकारले घोषणा ग¥यो । नागरिक स्वतन्त्रताको विषयमा ऐन–कानून, नियमवाली जारी भयो ।

याे घोषणा ती हाम्रा वीर शहिदहरुको स्मृतिमा ठूलो अपमानको कुरो हो । जसले आफ्ना दाजु–भाइ दिदी बहिनीहरुको लेख्ने, बोल्ने, पढ्ने, सभा, संगठन गर्ने स्वतन्त्राता पाउने छन्, भनी हाँसी–हाँसी दुस्मनको गोली छातिमा थापेका थिए, हाँसी–हाँसी फाँसीको तख्तामा झुुलेका थिए ।

फेरि यो घोषणा नेपालका सपूतहरुका निम्ति ठूलो अपमानको कुरो हो–जो सभा–संगठन गर्न नदिने राणाशाहीको ऐनलाई लत्याएर जेल परेका छन्, साथै यो घोषण हामी हजारौँ नर–नारीको निम्ति एउटा हाँक हो, चुनौति हो । जसले राणाशाहीको अगाडि घुँडा टेक्नुभन्दा अनेक किसिमको यातना सहनु, देश निकाला गर्नु आदिलाई सर्वश्रेष्ठ ठानिरहेका छौं ।

अतएव हामी प्रत्येक नर–नारीले घोषणपत्रलाई लत्याई “कोतपर्व” होइन, क्रान्तिकारी तरिकाले राणा शासनको तख्ता उल्टयाउने छौं, भन्ने क्रान्तिकारी प्रतिज्ञा गर्नु पर्दछ ।

राणाको घोषणा खोस्टा हो कि गुदी हो भन्ने यसै घोषणबाट छर्लङग हुन्छ । यस घोषणामा भनिएको छ–'राणाशाहीको हुकुम प्रमांगीबिना कुनै किसिको सभा–संगठन अथवा प्रर्दशन गर्ने अधिकार नेपाली जनतालाई दिइएको छ । राणाशाहीको कर्मचारीहरुले (नोकरशाहहरुले) जुनसुकै समयमा पनि हस्तक्षेप गर्न सक्नेछन्, चाहे त्यो सभा भर्खरै सुरु भएको होस्, अथवा आधा लम्किसकेको होस् ।'

राणाशाहीको स्वीकृतिबिना क्लब, मजदुर सभा (ट्रेड युनियन),  किसान सभा इत्यादि कुनै किसिमको संगठन खोल्ने अधिकार यस घोषणा पत्रले अस्वीकार गरेको छ ।  यस कारण यस घोषणापत्रको वास्तविक मतलब राणा समर्थकहरुले राणाशाहीको कुकर्महरुको समर्थन गरी पर्दा राखी जनताको विरोध खडा हुने, संगठित हुने र खोल्ने अधिकार पनि पाएका छन् ।

हुँदा हुँदा यस घोषणापत्रले सामाजिक सेवा गर्ने अधिकारसम्म पनि दिएको छैन । यसैबाट राणाशाहीको समाजद्रोही काम जाहेर हुन्छ ।  औषधि मुलोको पसल, संघ संस्था इत्यादि खोल्नलाई पनि नानावलीका शर्तहरु यस घोषणापत्रले राखेको छ । राणशाही चिले आँखा यस्ताहरुबाट पनि ओझेल भएको छैन । यस्तो तिनको नागरिक स्वतन्त्रता संसारको अरु कुनै भागमा देख्न सुन्न मुश्किल छ ।

राणाहरुलाई भने यिनीहरुको मालिक प्रभु आंग्ल–अमेरिकन साम्राज्यवादीहरुलाई जति पटक चाहियो उति पटक भेट्ने स्वतन्त्रता छ ।  नेपाली जनतालाई संयुक्त तरिकाले शोषण गर्नका निम्ति भारतीय धन कुबेर टाटा, विडला, सिहानिया, गोइङ्का, चमरियाहरुलाई राणाहरु इच्छा मुताविक भेट्न सक्छन् ।

करोडौं भारतीय जनताको रगत चुसी यिनीहरुले पोको पारेको थैली रक्षा गर्नका निम्ति हाम्रा अशिक्षित तर बहादुर भाइहरुलाई भारत पठाउनका निम्ति राणाहरु नेहरुलाई भेट्न सक्छन् । तर हामी नेपालका श्रमिक जनता नेपालका छोराछछोरीलाई आपसमा भेटघाट गरी राणाशाहीको यो बढ्दो शोषणलाई खत्तम गर्ने बाटो र भोक, बेकारी, चोर बजारी, दासत्वलाई खतम गर्ने उपाय निकाल्ने अधिकार छैन ।

हामीले राणाशाहीको त्यस कुकर्मको विरोधमा खडा हुने, बोल्ने, संगठित हुने अधिकार पाएका छैनौं, जुन मुताविक नेपाली जनताको अनुमति विना नै नेपाललाई विश्व युद्धको विउ छर्ने अमेरिकन साम्राज्यवादीहरुको र नेहरु आविष्कृत नव–साम्रज्यवादीहरुको हातमा सोभियत युनियन, नव–प्रजातन्त्रहरु, आजाद चीन र समस्त एसियाको स्वतन्त्रताको आन्दोलनको विरुद्ध एउटा फौजी अखडा कायम गर्नको निम्ति नेपाललाई बेचेको छ ।

वास्तवमा राणाशाहीहरु नागरिक स्वतन्त्रतादेखि यसरी काँपेका छन्, किन ?

किनभने राणाहरुलाई यस विषयमा कुराको पूर्ण रुपमा ज्ञान छ कि द्वितीय विश्व युद्धको फलस्वरुप समाजवादी संसारको मान, प्रतिष्ठा र घेरा बढ्दै गएको छ । र नेपाल यस संसारबाट कसैपनि अलग रहेने छैन ।  यस नयाँ संसार (समाजवादी संसार) को हावा नेपालमा अति प्रबल रुपले चलेको छ, भन्ने कुरा राणाले पूर्ण रुपले बोध छ । हामीहरुले प्रजातन्त्रीय अधिकारको धेरै लडाइहरुमा हिस्सा लिएका छौं । प्रजातन्त्रीय अधिकारको निमित्त लडेका छौं र यस दौरानमा राणाशाहीको विश्वासघाती नीतिको भण्डाफोर गरेका छौं ।

किनभने हामीले बोल्ने अधिकार पाएको खण्डमा राणाशाहीको पाखण्डी र अति निर्दयी शोषणको, जस्ता जमीन्दार, साहुकार, पूँजीपतिहरुको पनि हिस्सा छ, विरोधमा शानदार शब्द गुन्जायमान गर्नेछौँ भन्ने कुरा राणाशाहीहरुलाई राम्ररी थाहा छ ।  हामीले बोल्ने अधिकार पाएको खण्डमा हाम्रा नेपाली भाइहरुलाई साम्राज्यवादीहरुले मलाया, हिन्दूस्तान, पाकिस्तान र दक्षिण पूर्व एसियाका मुलुकहरुमा जुन सस्तो बन्दुकको चारो बनाई राखेका छन, त्यसको विरोध गर्छौं ।

किनभने राणहरु यो कुरा राम्ररी बुझ्छन् कि यदि हामीले संगठित हुने अधिकार पायौँ भने हामीहरुले मजदुर, किसान, विद्यार्थी, तरुण र नेपालका सम्पूर्ण प्रजातन्त्रीय मनधारी नर–नारीहरुलाई संगठित गर्नेछौं ।  सामन्ती र साम्राज्यवादी डाकाहरु नेपालको धनजनमा गरिरहेको शोषणलाई बन्द गर्नेछौँ । नेपालको श्रमिक वर्गलाई संगठित गरी हाम्रो जनधनको मालिक हामी हुनेछौं र हाम्रो प्यारो मातृभुमिको तैनाथ हामी गर्नेछौं, कि सामन्ती साम्राज्यवादी डाकाहरु । यी सबै कुराहरुको राणाको गिदीमा तस्वीर छ, यसकारण थाप्लो गिराउछ, मुटु ढुकढुकाउँछ ।

यदि नागरिक स्वतन्त्रताको नामैले हाम्रा दुश्मनको मुटु काँपे काँपोस्, मुटुको चालै बन्द भए होस् तर क्रान्तिकारी नेपालले निम्नलिखित युद्धनाथ फुक्नै पर्छ ।

-  मजदुरलाई आफ्नो रोटी र तलब बढाउन र मंहगी भत्ता बढाउनको निमित्त लड्नु पर्छ, यसकारण कि ऊ नागरिक स्वतन्त्रता चाहन्छ ।

-  किसानलाई आफ्नो भोक हराउन, आफ्नो बालीनाली (फसल) को भाउ बढाउन, ज्याला बढाउन (अधियामा उचित भाग पाउन) र जमिनहरुको निम्ति लड्नु पर्दछ । यस कारण कि किसान नागरिक स्वतन्त्रता चाहन्छ ।

-  विधार्थीलाई विना फोस अथवा कम फीसमा र उच्च दर्जाको शिक्षा पाउन संघर्ष गर्नु पर्दछ । यस कारण कि ऊ नागरिक स्वतन्त्रता चाहन्छ ।

 - नारी (महिला) लाई आफ्नो दोहोरो दासत्वको विरोधमा लड्नु पर्छ, यस कारण कि नारी नागरिक स्वतन्त्रता चाहन्छन् ।

यसकारण सबै जनता एक भै नागरिक स्वतन्त्रताका लागि शानदार युद्ध लडनु पर्दछ ।  यो युद्ध लड्दा विश्वासघाती समाजवादीहरुको नेतृत्वमा चल्ने र अरु सबै कांग्रसी नेताहरुको राणासँग मेलमिलाप बाटो त्यागी अविराम युद्ध नीति अपनाउनु पर्दछ ।  यी समाजवादी लगामे (भारतीय समाजवादीहरुको कठपुतली) कांग्रसी नेताहरुका मात्र विश्वास पात्र र दलाल होइनन् । अपितु टाटा, विडला र नेहरुका पनि हुन् ।

यी समाजवादी लगामे कांग्रसी नेताहरु नेपाललाई त्यस नेहरु सरकारको फौजमा भर्ती अड्डा मात्र गराउन चाहन्छन्, जुन नेहरु सरकारले भारतमा समेत नर हत्या गरिहेको छ, जुन नेहरु सरकारले हाम्रा नेपाली भाइहरुलाई मलायामा लैजाने सुविधा अंग्रेजलाई दिएको छ । किनभने उनीहरु, उनीहरुको प्रभु नेहरुलाई खुशी तुल्याई आर्शिवाद प्राप्त गर्ने ताकमा छन् ।

यसकारण उनीहरुले श्रमिक वर्गको अगुवा दस्ता रेल्वे मजदूरको रोटीका लडाइको विरुद्ध नेहरु सरकारको नादीरशाही नीतिहरुलाई सर्मथन गरी आफूलाई विश्व मजदूर वर्गको विरोधी सावित गरे ।
जो अरु मुलुकमा जनताको पक्ष लिदैनन्, विरोधमा जान्छन्, उनीहरु आफ्ना देशका जनताको पक्ष लिन सक्दैनन, विरोधमा नै जानेछन्, गइरहेका छन् । उनीहरुको सत्याग्रहको घम्की राणासँग मेलमिलाप गर्ने मात्र हो ।

जनताको बढ्दो अशान्तिको डाहा देखाई राणालाई मेल गर्ने दवाब दिने नीति हो । आजसम्मको उनीहरुको कार्यमा राणाशाहीको अगाडि उनीहरुले मुन्टो निहु¥याएका छन् र मेलमिलापको निम्ति दवाब दिनु सिवाय अरु कुनैै बाटो देखिएको छैन । अतएव नेपाली जनताले यस्ताको “राणासँग मेलको नीति” को भण्डाफोर गदैै अगाडि बढ्नु पर्दछ ।  यी जनतासँग हात मिलाउने सुरमा छैनन्, राणाको लात चाट्ने ताकमा छन्–खवरदार !!!

नेपाली जनताको नागरिक स्वतन्त्रताको लडाइ एउटा क्रान्तिकारी लडाइ हो । यस कारण यो लडाइ अहिंसात्मकसम्म मात्र सीमित हुनु हुँदैन । हरेक गाउँ, हरेक जिल्ला, हरेक स्कूल, हरेक कलकारखानामा नागरिक स्वतन्त्रताको क्रान्तिकारी समिति बनाऊ ।

राणाशाहीको जनविरोधी नीतिको खुल्लम् खुल्ला बहिष्कार गर । आफ्नो ऐन, कानून जारी गर । ठाउँ ठाउँमा कब्जा गर । सभा र प्रदर्शन गर । यी समितिहरुद्वारा मजदूर र किसान र अरु श्रमजीवीहरुको माग उठाऊ । 

नागरिक स्वतन्त्रताको क्रान्तिकारी समितिहरुले भासिएर (अण्डरग्राउण्ड) काम गर्ने तरिकाहरु र पुलिस हमला रोक्ने चालहरु र ती क्रान्तिकारी जनताको मागलाई समाजवादी लगामे र अरु काङ्ग्रेसी नेताहरुले आँखामा छारो हाली राखेका छन् ।

दुष्मनको विरुद्ध लडाइमा एकताबद्ध गर्ने उपायहरु पनि राम्ररी सम्झनु बुझ्नु पर्दछ । नेपालमा जति संगठन छन्, ती सबैलाई क्रान्तिकारी लाल झण्डाको मुनि सामेल गराउनु पर्दछ ।

वास्तवमा नेपालको समस्त प्रजातन्त्रीय शक्तिहरुलाई यस्तो एकताबद्ध गर्ने क्षमता क्रान्तिकारी समितिमा हुनु पर्दछ, जो राणाशाहीहरुलाई ध्वंश गरेर पनि अविराम गतिले समाजवाद र साम्यवादी क्रान्तितिर लम्कोस् ।

राणाशाही वास्तवमा त्यतिको बलियो छैन, जतिको देख्दा बलियो जस्तो भान पर्दछ । राणाशाहीसँग जनतालाई दबाउने ताकत छैन । अतएव जनतालाई दबाउनको निम्ति राणाशाहीले आँग्ल–अमेरिकन साम्राज्यवादी र नेहरु सरकारबाट बल प्राप्त गर्दछ, जो कि आफसे आफ बढ्दो क्रान्तिकारी भेलको अगाडि लडखडाइरहेका छन् ।

यसरी एकातिर प्रतिक्रियावादीहरु हरेक देशको क्रान्तिलाई रोक्ने ताकमा छन् । अर्कोतिर समस्त विश्वका प्रजातन्त्रीय शक्तिहरु सोभियत युनियनको नेतृत्वमा प्रतिक्रियावादीहरुलाई हाँक दिँदै अगाडि बढिरहेका छन् । प्रतिक्रियावादीहरुको प्रत्येक जालसाजीलाई चकनाचूर पार्दैछन् ।

लाखौँ–अरबौं डलर (अमेरिकन मुद्रा) ले पनि चीनी जनतालाई अमेरिकन डाँकाहरुले च्याङकाइ–सेकमार्फत् आफ्नो मुठ्ठीमा राख्न सकेनन् । चिनी जनता कम्युनिष्ट पार्टीको नेतृत्वमा नै विजयी सावित भए । चीनमा क्रान्तिकारी जनताको विजय हुँदैछ । यही क्रान्ति हाम्रो देशको सँघारमा आइपुगेको छ । बर्मा, मलाया, इन्डोचाइना, इन्डोनेशिया, भारतवर्षको मुटु तेलगांनाामा समेत क्रान्तिको ज्वाला उठिसकेको छ ।

क्रान्तिकारी जनताको राज छ । ऐन, कानून लागू छ, यी क्रान्तिकारी जनताहरु पाइला पाइला चाली हालमा हाल मिलाई कम्युनिष्ट पार्टीको नेतृत्वमा अगाडि बढिरहेका छन् । अरुको त कुरै छाडौँ अटम बमले पनि क्रान्तिकारी जनतालाई रोक्न सक्दैन ।

नेपालका छोरा छोरी हो !!!

तिमीहरु पनि त्यस रणक्षेत्रमा उत्रिसकेका छौँ । तिमीहरुले पनि आफूहरुमा लुकेको साहस र वीरत्व वैरी–विरोधी संग्राममा देखाइसकेका छौँ ।

राणाशाहीले तिम्रो छातिमा सोज्याएको बन्दुकको मुहरी त्यतै फर्काउने कोशिश गर्नु छ । राणाको घोषणालाई कुरकुच्चाले कुच्याई एकै स्वरले क्रान्तिकारी आवाजको गर्जना गर ।

–पूर्ण नागरिक स्वतन्त्रताको लडाइँ - जिन्दावाद !

–लेख्ने, बोल्ने, पढ्ने, सभा संगठन गर्ने अधिकार - जिन्दावाद !

–नेपाली मजदूरको तलब वा ज्याला बढाउने लडाइँ - जिन्दावाद !

–नेपालका किसानका 'फसल भाउ बढाउ, ज्याला भाउ बढाउ उचित अधिया–बालीको लडाइँ' - जिन्दावाद !

–एउटा नेपाली भाइ पनि साम्राज्यवादी लडाइको चारा बन्न दिने छैनौँ । चाहे मलाया होस चाहे हिन्दूस्तान, वीर नेपाली भाइ हो ! तिम्रो हातमा भएको बन्दुकले साम्राज्यवादी डाकाहरुको सीना ताक, प्रत्येक देशको गरिब भाइ मजदूर किसानसँग गला मिलाऊ !

–सोभियत युनियन, नवप्रजातन्त्रहरु, आजाद चीन, विश्वको मजदूर वर्गको आन्दोलन र विश्वको कम्युनिष्ट आन्दोलनसँग हाम्रो एकता - जिन्दावाद !

–नागरिक स्वतन्त्रताको लागि क्रान्तिकारी समितिहरु - जिन्दावाद !

क्रान्तिको समयमा शोषक वर्ग क्रान्ति रोक्न धेरै चालवाजी गर्दछ । नेपालमा यही चालवाजी हुन लागेको छ । राणा शव्दमा नै जनताको घृणा छ । यसको प्रत्यक्ष प्रमाण नेपाल प्रजातन् त्र काङ्ग्रेस हो । यसको सञ्चालक निष्कासित राणाहरु हुन् । यसको मुख्य कार्यकर्ताले राणाको हुकुम बजाई जनतालाई मनग्गे शोषण गरेका छन् ।  उदाहरण भीमदत्त मानसिहँ, गोबद्र्धन मास्के इत्यादि । यसकारण भूलमा परेका र आफ्नो उल्लु सिधा गर्न चाहने कार्यकर्ताहरु राजीनामा दिँदैछन् ।

यस्तो काङ्ग्रेसलाई दलाल बनाउँदा तुरुन्त काम फत्ते नहुने हुनाले भारतीय धनी वर्गका नेता नेहरु अर्कैलाई दलाल बनाउने ताकमा छन् । नेहरुलाई भारतमा क्रान्ति विरोधी कार्यमा मुख्य आड सोसलिष्ट जयप्रकाश नारायण र डा. राम मनोहर लोहिया जस्ता देशद्रोही व्यक्तिहरु भइरहेका हुनाले पनि उनैका चेला चपेटालाई (नेपाल राष्ट्रिय काङ्ग्रेस कोइराला दल समाजवादी लगामे) नेहरुले आफ्नो दलाल बनाउने निश्चय गरेको बुझिन्छ ।

समस्त दक्षिण पूर्वी एसियामा झै नेपालमा पनि क्रान्तिको लहर चलिरहेको छ, नेहरु, साम्राज्यवादीहरु र राणाहरुलाई यसको राम्रो बोध छ । यस निम्ति नेहरुले क्रान्तिको विरोधमा, रुस र आजाद चीनको विरोधमा नेपालमा साम्राज्यवादीहरुको फौजी अड्डा कायम गर्न सुविधा दिए ।  काङ्ग्रेसी पनि यो कुरा राम्ररी जान्दछन् । यस कारण क्रान्तिको नेतृत्व गर्ने कम्युनिष्ट पार्टी नेपालमा देखा नपर्दै यी काङ्ग्रेसीहरु तँछाड र मछाड गर्दै कम्युनिष्ट डर देखाइ राणसँग सम्झौता गर्न अगाडि बढे । यो कुरा सबै जनतालाई थाहा छ ।

विश्वेश्वर कोइरालाले काठमाडौँमा गई प्रधानमन्त्री मोहन शम्शेरलाई यही व्यहोराको विन्तिपत्र चढाएका थिए । यस्तासँग एकदम सावधान ! याद गर सामन्तवादी समाज र शासन व्यवस्था नेपालमा रहेसम्म एकाध बगुला भगते नेताहरु नेपालको शासनमा छानिएर जनताको दुःख कष्ट कम हुँदैन । यो त क्रान्तिकारी जनतालाई भूलमा पार्नु मात्र हो ।

अतएव हाम्रो नारा हुनु पर्दछ–राणासँग सम्झौता होइन क्रान्ति !! क्रान्ति !! क्राति !!!

सामन्तवादी शासन व्यवस्थालाई चकनाचुर गर । विदेशी साम्राज्यवाद भारतीय पूँजीवादको घेरा र प्रभावदेखि अलग होऊ, मजदूर र किसानको शासन खडा गर ।  यस शासनमा धनी साम्राज्यवादी र प्रतिक्रियावादीहरुका दलालहरु बाहेक सबै शोषित जनतालाई हिस्सा देऊ । सोभियत रुस, दक्षिण पूर्व युरोपका नव–प्रजातन्त्रहरु र आजाद चीनसँग राजनीतिक सम्बन्ध खडा गर । समाजवादको लक्ष्य राखी शासन चलाऊ ।  यसैलाई नव प्रजातन्त्र (New Democracy) भन्दछन् । दक्षिणपूर्व युरोप र आजाद चीनमा यस्तै शासन छ । हामीले पनि यही गर्नु छ ।

नव–प्रजातन्त्रवाद जिन्दावाद !

नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद !!

(यस व्यहाेराकाे पर्चा २००६ साल बैशाख १२ गते जारी भएको थियो ।) 

© 2021 Quicknepal.com  |  All Rights Reserved.