काङ्ग्रेसकाे छवि धुमिल भएकाे छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनको मिति पटक–पटक सारिएको भन्दै नेतृत्वप्रति असन्तुष्टी प्रकट गरेका छन् ।

२०७६ फागुनमा सम्पन्न भइसक्नु पर्ने कांग्रेसको महाधिवेशन पटक–पटक सर्दै आएको छ ।

पछिल्लो पटक २४ देखि २६ मंसिरका लागि महाधिवेशनको मिति तय भएपछि पूर्व महामन्त्री सिंहले ‘लोकतान्त्रिक पार्टीभित्र अलोकतान्त्रिक अभ्यास भइरहेको र यसले कांग्रेसको छवि धुमिल भएको’ बताए ।

कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले दिपावली तथा छठ पर्वको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले भने, ‘महाधिवेशनको दुई महिनाभित्र विभाग गठन हुनु पर्नेमा चार वर्षे कार्यकाल सकिएपछि असामान्य परिस्थितिमा महाधिवेशनको तिथिमिति तोकेपछि विभाग गठन भयो । अहिले पनि महाधिवेशनको मिति तोक्ने, काम नगर्ने र निर्णय कार्यान्वयन नगर्ने काम भइरहेको छ ।’

प्रतिबन्धित अवस्थामा पनि कांग्रेसले महाधिवेशन सहितका कार्यक्रम तोकिएकै मितिमा आयोजना गरेको स्मरण गर्दे नेता सिंहले भने, ‘महाधिवेशन पटक–पटक सार्दा छवि राम्राे भएको छैन । लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नु पर्छ भन्ने तर पार्टीभित्र लोकन्तात्रिक अभ्यास अवलम्बन नगर्ने, पार्टिभित्र यस्तो हालत छ ।’

१३ औं महाधिवेशनबाट नेतृवमा आएका पदाधिकारीबाट नै पार्टीको छविमा आँच आउने काम भइरहेको उनले बताए । ‘लोकतन्त्रिक गतिविधि भइरहेको छैन । पदाधिकारी हुँदैमा पार्टी उहाँहरुकै हो भन्ने होइन । कांग्रेस विधानअनुसार चल्ने सबैको पार्टी हो, सिंहले भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.