बैतडी । बैतडीको सिगास गाउँपालिका-५ ढुंगाडमा गत ३१ असोजदेखि २ कात्तिकसम्म भएको अविरल वर्षाले एक सय १० घरपरिवार प्रभावित भए । गाउँमा सेती नदीको बाढी पसेपछि तीन दिनसम्म टापुमा थुनिएका स्थानीयवासी अहिले पनि निकै समस्यामा छन् ।
बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसमेत पुगे हुन् । बाढीबाट प्रभावित भएको दुई साता पुगेपनि ढुंगाडवासीले केही राहत पाएका छैनन् ।
केन्द्र सरकार र प्रदेश सरकारका प्रमुखहरू त्यहाँ पुगे पनि घर नजिकैको भनिएको स्थानीय सरकारका व्यक्ति नपुगेको स्थानीय राम खडायतले बताए । उनले भने, ‘मेरो घरभित्र पानी पसेर सबै मालसमान बिग्रियो । बचेका कपडा र केही सामानहरू ओढारमा राखेका छौँ । बस्नलाई टहरो छैन् । छिमेकीको घरमा खाना खाने र कसैको घर गोठमा बास बस्ने गरेका छौँ ।’ अहिलेसम्म गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विपद् शाखाका व्यक्ति कोही नपुगेको उनले बताए ।
जनता यसरी घरबारविहीन हुँदा कोही पनि अहिलेसम्म एउटा त्रिपाल दिनसमेत नआएको स्थानीय कृष्ण खडायतले बताए । ‘यसरी ओढारको साहारा लिनुपरेका जनतालाई स्थानीय सरकारले एउटा त्रिपाल मात्र दिएको भएपनि राहत हुने थियो ।’ उनले भने ।
स्थानीय प्रताप महराको घर बाढीले बगाएपछि अहिले उनी छिमेकीको घरमा बसेर किरिया गरिरहेका छन् । महराले भने ‘बाढीले घर लगेसँगै घरभित्रका सबै माल समानहरू नष्ट भए, काट्न ठिक्क भएको धानसहितको खेतबारी सबै बगरमा परिणत भयो । न एक टुक्रा जमिन रह्यो । न बास बस्ने ठाउँ रह्यो । हामी बाढी आउनु पूर्व भाग्न सफल भयौँ र बल्ल बाँच्यौँ । यस्तो पीडामा परेका हामीलाई कुनै पनि सरकारले सहयोग गरेको छैन ।’
स्थानीय कृष्ण थापाले भने, ‘जिल्लामा रहेको विपद् व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, रेडक्रसका व्यक्ति, पत्रकार कोही पनि हाम्रो गाउँमा पुगेनन् । प्रधानमन्त्री र मुख्यमन्त्री आएको दिन केही नेताहरू र पत्रकार आएका थिए भन्ने सुन्यौँ तर उनीहरूले कसैको पीडा बुझेनन् । प्रधानमन्त्री पुगेको १० मिटर वरिपरि घुमेर गए ।’
यता जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्षसमेत रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे दसैँअघिदेखि बिदामा बसेका छन् । प्रमुख जिल्ला अधिकारी तिहारपछि मात्र जिल्ला फर्किने निमित्त प्रजिअ खगेन्द्र भारतीले बताए । सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बाढी प्रभावित क्षेत्रमा जानको लागि तयारी गरिरहेको बताएका छन् ।