काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज दुई खेल हुँदैछ । शनिबार कञ्चनपुरको वेदकोट नगरपालिका र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मा हुने दिनको पहिलो खेलमा दिउँसो १२ बजे समूह ‘आइ’अन्तर्गत वेदकोट नगरपालिका र कैलालीको गौरीगंगा नगरपालिकाबीच हुनेछ ।
वेदकोटले समूह चरणको पहिलो खेलमा सुनसरीको बराहक्षेत्र नगरपालिकालाई ३–० ले हराउँदै तीन अंक जोडिसकेको छ । गौरीगंगाको भने यो पहिलो खेल हो ।
दिनको दोस्रो खेलमा समूह ‘जे’ अन्तर्गत सुनकोशी गाउँपालिका उदयपुरको चौदण्डीगढी नगरपालिकाविरुद्ध दोस्रो जित निकाल्न चाहन्छ भने चौदण्डीगढी पहिलो जितको खोजीमा हुनेछ । खेल अपरान्ह ३ बजे हुनेछ ।
समूह चरणको पहिलो खेलमा सुनकोशीले धरान उपमहानगरपालिका विरुद्ध ४१ को नतिजा निकाल्दै महत्त्वपूर्ण तीन अंक जोडिसकेको छ ।शुक्रबार भएको खेलमा समूह ‘एफ’अन्तर्गत तुलसीपुर नगरपालिकाले हेटौंडा उपमहानगरपालिकालाई २–० ले हराउँदै तीन अंक जोडेको छ । भने लगातार दोस्रो पटक पराजित हेटौंडाको यात्रा टुंगिएको छ ।
यसअघि हेटौंडा पहिलो खेलमा गैंडाकोट नगरपालिकासँग १–० ले पराजित भएको थियो ।अर्को खेलमा समूह ‘जी’ अन्तर्गत विरेन्द्रनगर नगरपालिकाले पोखरा महानगरपालिकाविरुद्ध ४–१ को जित निकाल्दै तीन अंक जोड्यो । दुई खेलमा अंकविहिन रहेको पोखरा समूह चरणबाट बाहिरिसकेको छ ।पोखरा पहिलो खेलमा कैलालीको गोदावरी नगरपालिकासँग ६–० ले पराजित भएको थियो । यो जितसँगै कैलालीको गोदावरीले तीन अंक बटुलेको छ ।
अन्तिम खेलमा धनगढी उपमहानगरपालिका र गोकर्णेश्वर नगरपालिकाले बराबरी खेल्दै अंक बाँडेका थिए ।चार अंकसहित समूहको शिर्षस्थानमा रहेको धनगढीले यसअघि धनकुटा नगरपालिकालाई ५–० ले हराएको थियो ।समूह चरणको पहिलो खेल खेलेको गोकर्णेश्वर अंकविहिन छ ।अहिलेसम्म समूह ‘ए’ बाट झापाको कन्काइ नगरपालिका, समूह ‘बी’ बाट ललितपुर महानगरपालिका, समूह ‘सी’ बाट बर्दियाको बाँसगढी नगरपालिका र समूह ‘डी’ बाट झापाको शिवसताक्षी नगरपालिकाले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् ।
उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । उपमेयर कपको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन् । साथै फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।