कुनै समय एकै जहाजका दुई पाइलट, एउटै वनमा दुई सिंह मिलेर बसेका जस्ता उपमा दिएर एक/अर्काको प्रसंसामा रमाउने तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पछिल्लो समय हिलो छ्यापाछ्यापमा उत्रिएका छन् ।
गृहजिल्ला चितवन पुगेका पुष्पकमल दाहालले बालुवाटारमा छँदा ओलीले दैनिक उपयोगका सामान थाइल्यान्डलगायत मुलुकबाट ल्याएको आरोप लगाए । उनले भनेका थिए, ‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ । हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटलीबाट महँगो सामान ल्याएर राखेका रहेछन् ।’
विगतमा आफू सुतेको घाटको चर्चा गरेर आफ्नो बदनाम गरेको बताउँदै प्रधानमन्त्री छँदा ओलीले प्रयोग गरेका सामनको खुलासा गर्दै जाने बताए ।
त्यसको भोलिपल्ट अर्थात् शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्कमञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डको अभिव्यक्तिको जवाफ दिँदै केपी शर्मा ओलीले बालुवाटार जाँदा दैनिक प्रयोग हुने सामान आफैँले घरबाट लिएर गएको बताएका छन् ।
‘प्रचण्डले चितवन गएर के भनेछन् भने मलाई डेढ लाखको खातमा सुत्यो भनेर उडाउँथे । केपी ओलीले करोडौंको किनेका रहेछन्,’ ओलीले भने, ‘मेरो भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे । आफ्नै घरबाट लगेको हुन्थे, के को किन्नु ?’
एउटा रोटी र दुई गाँस भात खाएर बस्ने आफूलाई करोडौंको भाँडाकुँडा नचाहिने ओलीको तर्क छ ।
कुनै समय एउटै म्यानमा दुई तरबार र एउटै जंगलमा दुई शेर बस्न नसक्ने बताउँदै प्रचलनमा रहेका उखानलाई चुनौती दिने गरी उदाहरण बन्ने दुवैले प्रतिबद्धता गरेका थिए ।
सो क्रममा अध्यक्ष दाहालले ओलीको प्रसंसा गर्दै भनेका थिए, ‘ यी सबै उखान र वितगका अनुभव छन् । हामीले असम्भव देखिने कुरालाई सम्भव बनाउनुपर्छ र मानव जातिलाई योगदान दिन सकिन्छ भन्ने बुझाउनेमा स्पष्ट छौँ ।’
उनीहरु फरक-फरक मञ्चबाट त कहिले एउटै मञ्चबाट एकअर्काको प्रसंसा गर्थे । एकले अर्काको प्रसंसा गर्दा दुवै एकअर्कालाई हेरेर भित्रभित्रै मुसुमुसु मुसुकुराउँथे । त्यति मात्रै नभएर कार्यकर्ताको हाँसोसँगै उनीहरु पनि सँगै दिल खोलेर हास्थे ।
तर, उनीहरुको यो हाँसो धेरै समय टिक्न सकेन । अढाई-अढाई वर्ष सरकारको नेतृत्व गर्ने गोप्य सहमति गरी पार्टी एकता गरेका उनीहरुको सम्बन्धमा ओली प्रधानमन्त्री भएको अढाइ वर्षबाटै क्षयीकरण सुरु भयो ।
२०७७ साल पुष ५ सम्म रहेको आन्तरिक लडाइँ अन्तत: दुवै पूर्वप्रधानमन्त्री भाँडाकुँडा र खाटमा केन्द्रित भई एकअर्कालाई आरोपप्रत्यारोपमा तल्लीन छन् ।