तीन जिल्लाको संगम ‘पातिहाल्ने’मा टेलिकमको सेवा

बागलुङ । तीन जिल्ला बागलुङ, रोल्पा र रुकुमको संगम हो, तिलाचन धुरी । मध्यपहाडी लोकमार्ग विस्तार र स्तरोन्नति भएपछि तिलाचन धुरी पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ ।

कुनै दिन चराचुरुङ्गी, जंगली जनावर र गोठालाको मात्रा चहल-पहल हुने तिलाचान धुरीमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि तीन जिल्लाको दृश्य अवलोकन गर्न रुचि राख्ने आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन् ।

पर्यटकको चाप बढ्दै गएपछि नेपाल टेलिकम बागलुङले उपभोक्ताको मागलाई ध्यानमा राखेर तिलाचन धुरीमा उच्च गतिको इन्टरनेट सेवा सञ्चालन हुने गरी विटिएस टावर स्थापना गरी टेलिकम सेवा विस्तार गरेको हो । समुद्री सतहदेखि ३ हजार ४ सय मिटर उचाईमा अवस्थित तिलाचन धुरी ‘पातीहाल्ने’ नामले परिचित छ ।

मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नतिसँगै अहिले त्यहाँ गाडी र मानिसको भिड्भाड बढन थालेको छ । आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीलाई लक्षित गरी नेपाल टेलिकमले पहिलो पटक मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित तिलाचन धुरी 'पातीहाल्ने' मा टेलिकमले स्थायी संरचना निर्माण गरी मोबाइल सेवा टुजी र फोरजी एकसाथ शुभारम्भ गरेको टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

टेलिकमले ग्रामीण र दूरदराजका बस्तीसँगै लोकमार्ग आसपासका क्षेत्रमा आफनो सेवालाई निरन्तर विस्तार र स्तरोन्नति गर्ने योजना अनुरुप २५ मिटर अग्लो बिटिएस टावर निर्माण गरेको हो ।

यसअघि यस क्षेत्रमा मोबाइल सेवा थिएन । जसका कारण त्यहाँका स्थानीयवासी, मध्यपहाडी लोकमार्गको निसी भल्कोटदेखि पूर्वी रुकुमको भूमे गाउँपालिकाहुँदै यात्रा गर्ने यात्रु र रोल्पाको सुनछहारी गाउँपालिकाका बासिन्दा मोबाइल र इन्टरनेट सेवाबाट वञ्चित थिए ।

मध्यपहाडी लोकमार्ग भएर धेरै उपभोक्ता ओहोर-दोहोर गर्ने भएकाले टेलिकमले सेवा विस्तार गरेको हो । भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुद जनप्रतिनिधि, स्थानीयको सहकार्यमा सेवा पुर्‍याउन सफल भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.