अन्तर्राष्ट्रिय माउन्टेन गाइडको उद्धार

काठमाडौँ । सोलुखुम्बुको मेरापिक क्षेत्रमा पर्वतारोहणका क्रममा बेपत्ता भएका आरोही छेतेन शेर्पाको खोजिमा खटिएका अन्तर्राष्ट्रिय माउन्टेन गाइड ३४ वर्षीय मन्दिप गुरुङलाई हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।

उनी लेक लागेर बिरामी भएका थिए । बिरामी परेपछि शुक्रबार मेरापिकको खारेमा आराम गरिरहेका सङ्खुवासभाका ३४ वर्षीय गुरुङको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अक्सिज दिएर उनलाई राखिएको थियाे । आज (शनिबार) विहान कैलाश एयरको हेलिकोप्टरमार्फत् उद्धार गरी अस्पतालमा उपचार गरिएको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीले जानकारी दिएका हुन ।

उनका अनुसार उक्त अस्पतालमा उपचार सम्भव नभएपछि गुरुङलाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरमार्फत् उद्धार गरी तत्काल नै काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गराएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था गम्भिर भएकाले गर्दा भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको उनले जानकारी दिए । सोलु दूधकुण्ड नगरपालिका–३ स्थायी घर भएका २९ वर्षीय छेतेन शेर्पाको खोजीको कार्यका लागि टेक्नोलोजी सहित अन्तर्राष्ट्रिय टोली कार्तिक ९ गते मेरापिक क्षेत्रमा पुगेको थियो ।

उक्त क्षेत्रमा उद्धारका लागि पुगेको टोलीले खोजी कार्य जारी राखेको भएपनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको छ । खोजिका लागि पुगेको उक्त टोलीले आइबार अन्तिम पटक खोजी कार्य जारी राख्ने जनाएको छ । कात्तिक २ गते पर्यटनको उद्देश्य बोकेर शेर्पासहित दुई विदेशी र अन्य १० जना हिँउमा फसेका थिए । उनीहरु फसेको २ दिनपछि माउन्टेन शेर्पाको टोलीले हेलिकप्टरको माध्य्मबाट सोलुको लुक्ला पुर्याएको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.