वैदेशिक लगानी भित्र्याउन एनआरएनएलाई देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी भित्र्याउन गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई आग्रह गरेका छन् । 

स्कटल्यान्डको ग्लास्गो पुगेका देउवाले लन्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् । 

नेपालमा खोप भित्र्याउन एनआरएनले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले नेपाल चाँडै कोभिड-१९ मुक्त मुलुक हुने स्पष्ट पारे । 

संघले दोहोरो नागरिकताको व्यवस्था, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल र बेलायतबीच सीधा हवाई उडान, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था, वैदेशिक लगानी मैत्री वातावरण बनाउन माग गरेको छ ।

एनआरएन नेता तथा आगामी चुनावमा अध्यक्षका प्रत्यासी कुल आचार्यले प्रधानमन्त्रीलाई एनआरएनएका मागबारे ध्यानाकर्षण गराएका हुन् । एनआरएनए युके अध्यक्ष प्रेम गाहा मगरले ज्ञापन प्रस्तुत गर्दै माग पुरा गर्न माग गरे ।

बेलायती सांसदहरुलाई भेटेर देउवा बेलायती समयानुसार आजै बेलुका स्कटल्यान्डको ग्लास्गो सहरतर्फ प्रस्थान गर्ने भएका छन् । उनले त्यहाँ नोभेम्बर १ र २ मा हुने कोप–२६ सम्मेलनमा भाग लिने कार्यक्रम छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.