एमाले अधिवेशन : तेह्रथुममा ३९ वडामा नेतृत्व चयन

तेह्रथुम । एमाले तेह्रथुमले एक साता बितिसक्दा पनि वडा अधिवेशन सम्पन्न गर्न सकेको छैन । एमालेले ६ कात्तिकमा देशै भरको वडा अधिवेशन तोकेपनि तेह्रथुममा बाढी पहिरोले गर्दा समयमै अधिवेशन सम्पन्न गर्न नसकेको जनाएको छ ।

जिल्लाको कतिपय वडाहरू दूर्गममा छन् । गाउँगाउँमा सडक अवरुद्ध भएकाले ४३ मध्ये ३९ वटा वडामा अधिवेशन सम्पन्न भएको छ । गत ६ कात्तिकबाट सुरु भएको वडा अधिवेशन आइतबारसम्म ३९ वटा वडामा सम्पन्न भएको हो ।

जिल्लाको ६ वटा स्थानीय तहमध्ये म्याङलुङ नगरपालिकाको १० र मेन्छ्यायेम गाउँपालिकाको ६ वटै वडामा अधिवेशन सम्पन्न भएका छन् । छथर गाउँपालिकामा ६ मध्ये एक, लालिगुराँस नगरपालिकामा नौमध्ये एक, फेदाप गाउँपालिकामा पाँचमध्ये एक र आठराई गाउँपालिकामा सातमध्ये एक वडामा बाँकी रहेको एमाले तेह्रथुमका जिल्ला कमिटी सदस्य तथा कार्यालय सदस्य प्रेमराज फोम्बोले जानकारी दिए ।

जिल्लाको ३७ वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले तीनवटा वडामा निर्वाचनमार्फत नेतृत्व चयन गरेको छ । छथर गाउँपालिका– ५ र आठराई गाउँपालिका– ४ मा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरेको हो । वडा अधिवेशन आगामी १७ गतेसम्म सम्पन्न गर्ने तयारी रहेको बताइएको छ । नेतृत्व चयनमा भने समस्या नरहेको एमाले तेह्रथुमले दाबी गरेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.