उपमेयर कप महिला लिगको दोस्रो चरणमा १० टोली प्रवेश

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको दोस्रो चरणको समीकरण पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजा गरेको राष्ट्रिय लिग छनोट अन्तर्गत उपमेयर कपको १० समूहबाट १० टोली दोस्रो चरण तथा नकआउटमा प्रवेश पाएका छन् ।

यसअघि सहभागी ३१ क्लबलाई १० समूह विभाजन गरि लिग खेलाइएको थियो । प्रत्येक समूहबाट एक टोली दोस्रो चरणमा स्थान बनाएका छन् । सोमबारको खेलसँगै लिग खेलसमाप्त भएका छन् । अब, नकआउट चरणका खेल २२ कात्तिकबाट आयोजना हुनेछ ।

समूह ‘ए’ बाट समान ७ अंक भएपनि गोल अन्तरका आधारमा बाग्मती नगरपालिकालाई पछि पार्दै कनकाई नगरपालिका दोस्रो चरणमा स्थान बनाएको छ । कनकाईले ३२ गोल गर्दा बागमतीले १७ गोल गरेको थियो । दुबै टोलीले एक अर्काविरुद्ध एक–एक गोल गरेका थिए । यस समूहमा तीन खेल खेलेको गोदावरी नगरपालिकाले तीन अंक बनाउँदा तेस्रो स्थानमा रह्यो भने तीन खेलमा ३३ गोल व्यहोरेको महालक्ष्मी नगरपालिका पुछारमा रहेर प्रतियोगिता टुङ्गायो ।

समूह ‘बी’ बाट ललितपुर महानगरपालिका दोस्रो चरणमा प्रवेश गर्‍यो । उसको चार अंक रह्यो । यता, तीन अंक बनाएको कागेश्वरी नगरपालिका दोस्रो रह्यो भने कालिका नगरपालिका एक अंकका साथ पुछारमा रह्यो । समूह ‘बी’ मा बलियो देखिएको कालिकाले नियमविपरीत पाँच विभागीय खेलाडी अनुबन्धन गरेपछि क्लबलाई ‘प्रोटेस्ट’ परेको थियो । अघिल्लो खेलमा कागेश्वरीलाई १०(० ले पराजित गरेको कालिकाले नियमअनुसार सो नतिजा कागेश्वरलाई ३–० ले बुझाएको थियो ।

समूह ‘सी’बाट बाँसगढी नगरपालिका छ अंकसहित अर्को चरणमा प्रवेश पायो । तीन अंक जोडेको भक्तपुर नगरपालिका र बिना अंक २६ गोल व्यहोरेको पुतलीबजार स्वतः दोस्रो चरण बाहिर रहे । समूह ‘डी’ बाट छ अंक बनाएको शिवशक्ति नगरपालिका दोस्रो चरणमा स्थान बनाउँदा एक जित हात पारेको देभचुली नगरपालिका र जितविहीन रहेको जानकी नगरपालिका बाहिरिए ।

समूह ‘ई’बाट रोङ गाउँपालिकाको दोस्रो स्थानमा प्रवेश गरेको छ । समान चार अंक भए पनि यस समूहबाट काठमाडौं महानगरपालिका गोल अन्तरका आधार र बिना कुनै अंक २० गोल व्यहोरेको सिमकोट गाउँपालिका बाहिरिए ।

समूह ‘एफ’ बाट छ अंकका साथ तुल्सीपुर अर्को चरणमा स्थान बनाउँदा तीन अंक जोडेको गैँडाकोट नगरपालिका र बिना कुनै अंक हेटौँडा नगरपालिका बाहिर रहे ।

समूह ‘जी’ बाट सात अंक बनाएको कैलालीको गोदावरी नगरपालिका छ अंक जोड्दै नकआउट चरणमा स्थान बनाउँदा वीरेन्द्रनगर नगरपालिका र पोखरा उपमहानगरपालिका अर्को चरणमा स्थान बनाउन असफल रहे ।

समूह ‘एच’बाट समान चार अंक भए पनि गोकर्णेश्वर नगरपालिकालाई एक गोल अन्तरले पछि पार्दै धनगढी नगरपालिका दोस्रो चरणमा स्थान बनायो । यस समूहमा धनकुटा नगरपालिकाले नौ गोल व्यहोर्दा कुनै अंक बनाउन सकेन ।

समूह ‘आई’बाट समान चार अंक भए पनि एक गोलले बेदकोट नगरपालिकालाई पछि पार्दै गौरीगंगा नगरपालिका दोस्रो चरणमा प्रवेश गर्‍यो । बराहक्षेत्र नगरपालिकाले भने यस समूहबाट कुनै अंक जोड्न सकेन ।

समूह जे बाट सुनकोशी गाउँपालिका शत प्रतिशत जितका साथ नकआउट चरणमा स्थान बनायो । यस समूहबाट गत सिजन महिला लिग खेलेको चौदण्डीगढी नगरपालिका र धरान उपमहानगरपालिका बाहिरिए ।

दोस्रो चरण अर्थात नकआउट चरणका खेलहरू २२ कात्तिकबाट सुरू हुनेछन् । प्रतियोगिताको सहभागी क्लबहरूले विभागका चार खेलाडी अनुबन्धन गर्न पाएका थिए ।यस प्रतियोगिताको फाइनलमा पुग्ने टोली चैतमा आयोजना हुने महिला लिगमा छनोट हुनेछन् । मेयर कपको विजेताले पाँच लाख नगद प्राप्त गर्नेछन् भने उपविजेताले तीन लाख पाउनेछ ।


नक आउटमा छनोट भएका टोलीहरु :

समूह ए : कनकाई नगरपालिका

समूह बी :ललितपुर उपमहानगरपालिका

समूह सी : बांसगढी नगरपालिका

समूह डी : शिबशक्ति नगरपालिका

समूह ई : रोङ गाउ पालिका

समूह एफ : तुल्सीपुर नगरपालिका

समूह जी : कैलालीको गोदावरी नगरपालिका

समूह एच : धनगढी नगरपालिका

समूह आई : गौरिनगर नगरपालिका

समूह जे : सुनकोशी गाउँपालिका

© 2021 Quicknepal.com  |  All Rights Reserved.