काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले समय बर्बाद गरेको टिप्पणी गरेका छन् । आन्तरिक भागबण्डा मिलाउन नसकेर तीन महिनासम्म सरकार विस्तार गर्न नसकेको सरकारले समय मात्रै बर्बाद गरिरहेको ओलीको भनाई छ ।
'यी पञ्चमुखीहरु खान बसेका छन् । देशलाई अल्मल्याएका छन् । तीन महिनामा सरकार बन्न सक्दैन । अलिक पछाडि आफैं ढले अचम्म मान्नु पर्दैन ' -उनले भने ।
'यो सरकार दिनदिनै लुतो लागेको कुकुरजस्तो खुइलिँदै जाने छ । हामी सरकार ढाल्नतिर लाग्दैनौं । हामीले चाह्यौ भने ७ दिनमा ढाल्दिन्छौं । तर यो सरकार आफै खुइलिँदै जान्छ । यता मिलाएको छ, उता मिलाएको छ । समय बर्बाद गरेको छ' उनले भने ।
ओलीले सत्ता गठबन्धन अब चुनावबाट भाग्न नपाउने पनि उल्लेख गरे । 'चुनावबाट कहिलेसम्म भाग्लान ? दुईपटक भागे । अब आफैले चुनाव गराउनुपर्छ । स्थानीय चुनावमा यिनीहरुलाई घोडाले पछारेझै पर्छानुपर्छ' उनले भने ।
'यस (भरतपुर) महानगरमा अरुले उम्मेदवार हाल्ने मन लाग्नेले हाल्छ । तर जित्ने एमालेले हो । नेकपा एमाले कुटाकुट गर्ने बार हो र ? लोकतान्त्रिक पार्टी हो हामीले चुनाव नजिते कसले जित्छ', ओलीले भने ।