प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि वकिलको प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसनको नेतृत्वमा कानून व्यवसायीले तेस्रो दिन मंगलबार पनि आन्दोलन जारी राखेका छन् ।

आइतबारबाट कालो पट्टी बाँधेर विरोधमा उत्रिएका उनीहरूले सोमबार पनि आफ्नो आन्दोलनलाई जारी राखेका हुन् । प्रधानन्यायाधीश जबराले आफू ‘सम्मानजनक बहिर्गमन’को पक्षमा रहेको सन्देश दिइसकेकाे अवस्थामा पनि उनको राजीनामा माग्दै कानून व्यवसायीहरूले आन्दोलन जारी राखेका छन् ।

बारसहित सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरू प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका छन् । उनीहरू इजलासमा समेत बसेका छैनन् ।

सोही क्रममा आन्दोलनमा उत्रिएका न्यायाधीशहरूलाई जबराले आफू सम्मानजनक बहिर्गमन हुन चाहेको सन्देश पठाएका थिए ।

कार्यपालिकासँग मिलेर राजनीतिक भाग खोजेको आरोप लगाउँदै प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वोच्चकै न्यायाधीश र कानून व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.