न्यायाधीशले फेरि हेरेनन् बन्दीका मुद्दा

काठमाडौं । बन्दी-प्रत्यक्षीकरणको मुद्दा सुनुवाई गर्ने बताएका सर्वोच्च अदालतका न्यायाधीशहरुले २४ घन्टा नबित्दै प्रतिवद्धता तोडेका छन् ।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका न्यायाधीश र प्रधानन्यायाधीशबीच बन्दीका मुद्धा सुनुवाई गर्ने सहमति बनेको थियो ।

प्रधानन्यायाधीशले आफुलाई मुद्दा नतोक्ने, बन्दी बाहेकका मुद्दाको पेसी नराख्ने सहमति भएपछि हिजो न्यायाधीशहरुले बन्दीका निवेदनमा सुनुवाई गरेका थिए ।

तर आज भने उनीहरुले हिजोकै जस्तो प्रकृतिका मुद्दामा सहभागिता जनाएनन् । एक न्यायाधीशका अनुसार न्यायाधीशहरुको आन्तरिक छलफल र प्रधानन्यायाधीशको अडानका कारण इजलासमा नजाने निर्णय भएको हो ।

जबराले आफुबाहेक आज ६ वटा इजलास गठन गर्दै १० वटा बन्दीका रिट सुनुवाइका लागि पेसी तोकेका थिए ।

मुद्दा सुनुवाई रोकेर थप रणनीति बनाउन न्यायाधीशहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् । प्रधानन्याधीशको भूमिकाप्रति असन्तुष्ट हुँदै मुद्दा छाडेर छलफलमा जुटेको एक न्यायाधीशले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.