यस वर्ष १५ लाख सयपत्री मालाकाे माग

काठमाडौं । तिहार नजिकिँदै गर्दा काठमाडौंका विभिन्न स्थानमा फूल, मालाको सजावट देखिन थालको छ । चोक होस् वा गल्ली, घर होस् वा कार्यालय जतासुकै फूलको सुन्दरता सुरु भएको छ । बत्तीको झिलिमिलीले तिहारलाई थप सुन्दरता थपेको छ ।

फूलले सन्दरता थपेको त छ, तर तिहारमा फूलको खपत भने अधिक हुने गरेको छ । बजारमा फूलको व्यापार बढेसँगै फूल व्यवसायीको व्यस्तता पनि बढेको छ ।

हरेक वर्ष तिहारको समय फूल व्यापार गर्ने भक्तपुर सूर्यविनायक नगरपालिका, गुन्डुकी पवित्रा न्यौपाने पनि आजकल व्यस्त छिन् ।

व्यस्तता बढेपनि यो वर्ष फूलको उत्पादन सोचे जस्तो नभएको पवित्रा बताउँछिन् । उनले प्रत्येक वर्ष एक रोपनी जग्गामा फूल रोप्दै आएकी छिन् । यो वर्ष भने नगरपालिकाले अनुदानमा दिइएको सयपत्री फूलको विउ राम्रो परेन । सयपत्री फूलको विउ राम्रो नहुँदा उत्पादन घटेको पवित्राको भनाई छ ।

हरेक वर्ष ५० देखि ६० हजारसम्मको फूल बेच्ने गरेकी पवित्रा, यो वर्ष आधाभन्दा कम उत्पादन भएको सुनाउँछिन् । पवित्राका अनुसार सयपत्रीको दाँजोमा मखमलीको उत्पादन भने राम्रो भएको छ ।
मखमली खेतीमा धेरै मेहेनत पर्ने गरेको मानबहादुर लिम्बू बताउँछन् । विगत ५ वर्षदेखि भक्तपुर गुन्डुमा मखमलीे खेती गर्दै आएका लिम्बूका एक छोरा र एक छोरीको लालन–पालन र पढाई खर्च मखमली खेतीबाट धानिएको छ ।

प्रत्येक वर्षको तिहारमा ७० हजारसम्मको मखमली बेच्ने गर्छन् उनी । हरेक वर्ष बैशाखमा बेर्ना उत्पादन गरेर रोपिएको मखमली भदौबाट टिपिन्छ । फूल टिप्न थालेसँगै माला बनाउने काम सुरु हुन्छ । उनका अनुसार फूलको व्यापार भने तिहारको समयमा मात्रै हुने गर्छ ।

तिहार र मखमलीको सम्बन्ध विशेष रहेको मान्यताले गर्दा पनि मखमली तिहारमा मात्रै बिक्री वितरण हुने गरेको लिम्बू सुनाउँछन् ।

कहिल्यै नओइलाउने फूलको रुपमा लिइने मखमली फुलाउँन भने धेरै मेहनत लाग्ने गरेको उनको भनाई छ । उनी भन्छन्–बेर्ना उमार्न चिस्यानमा राख्नु पर्छ । विभिन्न किराबाट जोगाउन समय समयमा विषादी पनि छर्किनु पर्ने हुन्छ ।

राम्रो मखमली फूलाउन भिटमिनको प्रयोग पनि गर्नुपर्ने हुन्छ । यसरी मेहनत र लगानी धेरै लाग्ने फूलको बजार पनि राम्रो पाउने गरेको उनी बताउँछन् । यतिमात्र होइन, मखमली फूलको माला बनाउँनका लागि मेहनत र खर्च धेरै लाग्ने गरेको छ ।

माला उन्नेलाई ४ देखि ५ रुपैयाँको दरले ज्याला दिने गरेका लिम्बूको गुनासो बजारमा उपभोक्ताले महंगोमा माला किन्ने गरेपनि किसानले राम्रो मूल्य नपाएकोमा छ ।  नेपालमा फूलको कारोबार गर्दै आइरहेका नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यो वर्ष तिहारका लागि १५ लाख थान मालाको माग भएको छ ।

फ्यानका अध्यक्ष मिन बहादुर तामाङका अनुसार तिहारको ५ दिन फूलको खपत अधिक हुन्छ । ‘यो वर्ष तिहारका लागि १५ लाख सयपत्री मालाको माग भएको छ । जसमध्ये १३ लाख माला आन्तरिक उत्पादनबाट आउने भएको छ ।’

अध्यक्ष तामाङका अनुसार अपुग हुने फूलको परिपूर्तिका लागि भारतबाट ल्याउने तयारी रहेको छ । तिहारको समय विशेष गरी नेपालमा सयपत्री र मखमली फूलको खपत हुने गरेको छ ।

मखमली भने नेपालबाट प्रत्येक वर्ष एक लाख संख्यामा निर्यात हुने गरेको छ । अध्यक्ष तामाङका अनुसार नेपालीहरु  बसोबास गर्ने युरोप, अमेरिका लगायतका देशबाट मखमलीको माग हुने गरेको छ ।

फ्यानका अनुसार हाल नेपालभित्र सयपत्री फूलको उत्पादन राम्रो छ । अध्यक्ष तामाङका अनुसार चाडबाडको समयमा भन्दा अन्य समयमा आन्तरिक उत्पादनले बजारको माग धान्ने गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.