लाम्रा संवादः गाउँ–गाउँका कुडाको बहस जारी

जुम्ला । मंगलबारदेखि जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्रा गाउँमा लाम्रा संवाद ‘गाउँगाउँका कुडा संस्करण २’ जारी छ । कर्णाली क्षेत्रको विशिष्ट इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ हो, जुम्ला जिल्ला ।

जुम्लाको खस भाषाको लोपोन्मुख रीतिरिवाज र परम्परालाई संरक्षण गर्न र नयाँ पुस्तालाई सिकाउन लाम्रा संवादः गाउँ–गाउँका कुडाको बहस सञ्चालन गरिएको हो ।

लाम्राका अगुवा नागरिकले ‘लाम्रा संवादः गाउँका कुडाको बहस’ गतवर्षबाट थालेका थिए । तर, यसवर्षबाट गाउँका कुरामात्रै नभई हाम्मो लाम्रा संवाद गाउँ–गाउँका कुडामा फराकिलो बनेको छ ।

लाम्रा संवाद गाउँ गाउँका कुडा संयोजक नन्दप्रसाद चौलागाईंले पुराना र नयाँ पुस्ताबीचको छलफल तथा बहसलाई आधुनिक प्रविधि र पद्धतिमार्फत अभिलेखीकरण गर्न खोजिएको बताए ।

‘यो संवाद कार्यक्रममा विचारको छलफल, बहस तथा मन्थन गरिने, विद्वत् प्रवचनअन्तर्गत तातोपानीको गौरव, विकास र भविष्यको कुरा उजागर गरिनेछ’, उनले भने ।

संरक्षण तथा प्रवर्द्धन गरिनुपर्ने इतिहास, संस्कृति, परम्पराको चर्चा लाम्रा संवादमा गरिनेछ । जिल्लास्तरीय राजनीतिक पार्टी प्रमुखहरू एकै थलोमा बसेर बहस, चिन्तन र साझा मुद्दा पहिल्याउनेछन् । सभ्यताको साइनो, भाषा संस्कृति, सभ्यता संरक्षणमा भइरहेका पहलमाथि चर्चा गरिने बताइएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.