काठमाडौं । सरकारले कोभिड-१९ बाट प्रभावित अति विपन्न परिवारलाई १० हजार दिने सरकारी निर्णयको कार्यविधि तयार पारेको छ ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत् कोरोना महामारीबाट प्रभावित अति विपन्न परिवारलाई १० हजार प्रदान गर्ने घोषणाबमोजिम कार्यविधि तयार गरेकाे हो ।
मन्त्रिपरिषद्बाट अति विपन्नलाई राहत दिने कार्यविधि पारित भएपछि सो कार्यविधि मंगलबार राजपत्रमा प्रकाशन भएको छ ।
सरकारले दशैँ अघि नै ५ लाख परिवारलाई १० हजारका दरले प्रत्यक्ष नगद वितरण गर्ने योजना बनाएको थियो । यसअघि कार्यविधि निर्माण नहुँदा वितरण हुन सकेको थिएन ।
अर्थमन्त्री जनार्दन शर्माले राजपत्रमा प्रकाशित भएसँगै अब देश भरका अति विपन्न ५ लाख परिवारले १० हजारका दरले नगद राहत प्राप्त गर्ने बताएका थिए ।
यस योजनामा सहभागिता हुनका लागि रोजगारी पूर्ण रूपमा गुमाएको र अर्को रोजगारी प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित मजदुर वा कामदार हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
यसैगरी खुला सडक, फुटपाथमा वा चौरमा खर्पन, नाङ्गलो, डोको आदिमा समान बेच्ने अतिविपन्न व्यवसायी, दैनिक ज्याला-मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेतला, ज्यालदारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायात मजदुर, पर्यटन, भरियाले सो रकम प्राप्त गर्न सक्ने कार्विधिमा उल्लेख छ ।