अछाम । पानीको मुहान एउटै, गाउँ र टोल पनि एउटै, तर खानेपानीको धारा भने जातका आधारमा फरक फरक छ । कथित तल्लो जाति भनिएकाले प्रयोग गर्दै आएको धारामा पानी नआए एक घण्टा टाढाको वनमा जानुपर्ने बाध्यता छ । अछामको साँफेबगर नगरपालिका–२ जाल्पादेवीको बागभिडी टोलमा यस्तो चलन वर्षौदेखि चल्दै आएको छ ।
बागभिडी टोलमा कुँवर, विक र आउजी समुदायको बसोवास छ । उक्त टोलमा कुँवरहरूका लागि एउटा धारो, विक र आउजी समुदायका लागि अर्को धारो छ । धारोमा आउने पानीको मुहान एउटै भए पनि दलितहरूले कथित माथिल्लो जाति भनिएकाहरूले प्रयोग गर्ने धाराको पानी पिउन नपाउने स्थानीय ४० वर्षीया निर्मला आउजी बताउँछिन् । कुँवर समुदायका व्यक्तिहरूले दलित समुदायका मानिसले धारा छोएमा गालीगलौज गर्ने गरेको उनले दु:खेसो पोखिन ।
केही समय यता दलित समुदायले प्रयोग गर्दै आएको धारामा पानी आउन छाडेको छ । पानी नआएपछि एक घण्टाभन्दा बढी समय लगाएर जंगलबाट पानी ल्याउनु पर्ने बाध्यता रहेको उनले बताइन ।
गैरदलितको धारामा दैनिक आठ घण्टा पानी आउने गरेपनि दलित समुदायले भने पानी भर्न नपाउने स्थानीय झुप्री विकले बताइन । ‘बढी भएको पानी गैरदलित समुदायको पानी ट्याङकीमा जम्मा हुन्छ । तर, हामी जंगलमा गएर ल्याउनु पर्छ।’ उनले भनिन् ‘दलित समुदायका व्यक्तिले धारामा पानी आएको हेर्न पाउँछन् भर्न पाउँदैनन् ।’ धारोको बाटो भएर मेलापात गोठालो जाँदा-आउँदा प्यास लाग्छ, प्यास लागे पनि जातीय विभेदका कारण पानीको प्यास मेट्न पाउँदैनौं ।’ विकले भनिन् ।
दलित समुदायभित्रैको विभेद झन चर्को
दलित समुदायभित्र हुने विभेद झन चर्को रहेको भागभिडीकी अमृता आउजी बताउँछिन् । दलित र गैरदलित समुदायका व्यक्तिले पानीको उपयोग गर्दै आए पनि आउजी समुदायले झनै समस्या भोग्नु परेको उनको भनाइ छ । उनले भागभिडीमा पानी भर्न नपाउँदा छिमेकी वडामा पानी भर्न जान बाध्य भएको बताइन । छिमेकी वडामा पानी भर्न जाँदा अपहेलना भोग्नु परेको उनले बताइन ।
सार्वजनिक स्थल, धारा, पाटी, पौवा, भोज, भतेरमा समेत दलित समुदायले अपहेलित हुनुपर्ने स्थानीय प्रेम आउजीको भनाइ छ । उनले गैरदलित समुदायको पक्षमा थुप्रै सरकारी तथा गैरसकारी संस्थाले काम गर्दै आए पनि दलित समुदायमाथिको विभेद कायमै रहेको बताए ।
साँफेबगर नगरपालिका–२ जाल्पादेवीका वडाअध्यक्ष कालु सिंह कुँवरले भने दलित समुदायका व्यक्तिले भने जस्तो विभेद नरहेको दाबी गरे । जाल्पादेवीमा पानीको अभाव हुँदा समस्या चाहीँ भएको उनले बताए । बागभिडीमा देखिएको खानीपानीको समस्या समाधानको लागि डिप बोरिङ्ग राख्ने पक्रिया सुरू भइसकेको पनि उनको भनाइ छ । उनले डिप बोरिङ्ग गाँडेपछि भागभिडीमा खानेपानी समस्या समाधान हुने उनले बताए ।