२० को दशकबाट विभाजन सुरु भएको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने, फेरि एकता कायम गर्ने, रूपान्तरण गर्ने एउटा अभियान जसरी झापा आन्दोलनले गर्यो यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्यो ।
फलस्वरुप यो आन्दोलले को–अर्डिनेसन केन्द्र जस्तो संगठन निर्माण गरेर राजनीतिक उचाइ प्राप्त गरेको हो । जसको पछिल्लो राजनीतिक उत्तराधिकारी नेकपा एमाले देशको नेतृत्वदायक शक्तिको रुपमा रहिआएको छ ।
काठमाडौं । चिनियाँ सांस्कृतिक क्रान्ति, रुसी कम्युनिस्ट आन्दोलन र भारतीय कम्युनिस्ट आन्दोलनको प्रभावस्वरुप नेपालमा कम्युनिस्ट विचारधाराको प्रभाव बढिरहेको थियो ।
यसको प्रभाव स्वरुप २००६ सालमा पुष्पलालहरुले नेपालमा कम्युनिष्ट आन्दोलन सुरु गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेनपछि कम्युनिष्टहरुमा विभाजन आयो । यसकारण विभिन्न व्यक्तिले नेतृत्व गरेका कम्यनिष्ट समूहहरु अस्तित्वमा आए ।
प्रान्तीय कमिटीहरुले केन्द्रसँगको सम्बन्ध तोड्ने क्रम तीव्र बन्यो । पूर्वकोसी प्रान्तीय कमिटीसित असन्तुष्ट झापा जिल्ला कमिटीले कालान्तरमा झापा आन्दोलन सुरु गर्यो ।
तत्कालीन झापा जिल्ला कमिटीका ईन्चार्ज थिए, गोपालकृष्ण प्रसाईं । र, सचिव थिए मदन खपाङ्गी ।
झापा जिल्ला कमिटीमा द्रोणाचार्य क्षेत्री, राधाकृष्ण मैनाली, केरकेरु राजवंशी, बलबहादुर थापा, तिलविक्रम ढकाल, टीकाप्रसाद सापकोटा र भ्रमणसिंह राजवंशी सदस्य थिए ।
नेपालको इतिहासमा झापा आन्दोलन कम्युनिष्टहरुको सशक्त आन्दोलन हो । झापा आन्दोलन भारतमा भाकपाद्वारा सञ्चालित नक्सालवादी आन्दोलनबाट प्रभावित थियो ।
कसरी सुरु भयो झापा आन्दोलन ?
नेकपा (तुल्सीलाल समूह) को केन्द्रीय नेतृत्वसँग मतभेद राख्दा २०२२ सालदेखि पूर्वकोसी प्रान्तीय कमिटीभित्र राज्य सत्ता प्राप्तिको सवालमा विवाद सुरु भएको थियो ।
मनमोहन अधिकारी २०२५ सालमा जेलमुक्त भएपछि यो विवाद झन् चर्किएको थियो । यही क्रममा सशस्त्र संघर्षमा जोड दिने नक्सालवादी आन्दोलनबाट प्रभावित कार्यकर्ताहरु पूर्वकोशी प्रान्तीय कमिटीको लाइनसँग सहमत हुन सकेनन् ।
फलस्वरुप झापा जिल्ला कमिटीले पूर्वकोसी प्रान्तीय कमिटीको सहमतिबिना नै ‘वर्गशत्रु खतम’ र ‘गुरिल्ला संघर्ष’ चलाउने औपचारिक निर्णय गर्यो ।
यो निर्णय लिनुअघि राधाकृष्ण मैनालीलगायत सदस्यले भारतमा नक्सालवाडी आन्दोलन सञ्चालन गरिरहेका चारु मजुमदारको नेतृत्वको भाकपा मालेसँग सम्पर्क गरिरहेका थिए ।
यो समय किसानहरुमाथि सामन्तहरुको अत्याचार तीव्र थियो । अत्याचारको मुक्तिका लागि झापा आन्दोलन गुरिल्ला शैली अपनाएर सुरु भएको हो ।
झापा आन्दोलनकाे कार्यशैली
चिनियाँ सांस्कृतिक क्रान्ति, भारतको नक्सालवादी आन्दोलनबाट प्रभावित भई सुरु भएको झापा आन्दोलनका मुख्य लक्ष्य वर्ग शत्रु खत्तम गर्ने, नयाँ जनवादी राज्यसत्ताको स्थपना गर्ने थियो ।
यी उद्देश्य पूरा गर्नका लागि गुरिल्ला शैली सञ्चालन र जमिनदारविरोधी आन्दोलनको नाममा व्यक्ति हत्याजस्ता कार्यशैली पनि अपनाइएको थियो ।
झापा आन्दोलनका क्रममा भएका सुरुवाती कार्य
झापा आन्दोलनको सुरुवात गर्न २०२८ साल वैशाख ८ गते झापाको ज्यामिरगढीका विसुलाल राजवंशीको घरमा बैठक बसेकाे थियो । बैठकमा मोहनचन्द्र अधिकारी, रामनाथ दाहाल, राधाकृष्ण मैनाली, वीरेन राजवंशी र वीरेन राजवंशीले प्रशिक्षित गरेका अन्य ६ स्थानीय युवासहित १० जना सहभागी थिए ।
बैठकले स्क्वायड निर्माण गरी सशस्त्र गतिविधि गर्ने, स्क्वायडले तोकेको क्षेत्रभित्र एउटा समयमा एउटा मात्र एक्सन गर्ने (वान एरिया, वान युनिट, वान स्क्वायड, वान एक्सनको कार्यशैली अप्नाउने निर्णय ।) निर्णय गरेको थियो ।
ज्यामिरगढीमा बैशाख ९ गते वीरेन राजवंशीको राजनैतिक अगुवाई र खोका राजवंशीको सैनिक नेतृत्वमा विसु राजवंशी, राजन राजवंशीलगायत ७ सदस्यीय पहिलो स्क्वायड (प्रत्येक स्क्वायडमा सात जना सदस्य रहने व्यवस्था) गठन भएको थियो ।
यस्ता स्क्वायडहरु शनिश्वरेको सालवाडीमा शिव सिवाकोटी, शनिश्वरेको हात्ती किल्लामा मानबहादुर तामाङ, बुधबारेको होक्सेमा रामप्रसाद प्रधान, धाइजनमा छविलाल राजवंशीको नेतृत्वमा बनेका थिए ।
झापा आन्दोलनका सुरुवाती कारबाही
स्क्वाडको निर्माणपछि झापा आन्दोलनमा पहिलो एक्सन २०२८ साल जेष्ठ २ गते ज्यामिरगढीका कर्णबहादुर गौतम विरुद्ध भौतिक सफायाबाट सुरु भयो ।
दोस्रो एक्सन २०२९ साल बैशाखमा शनिश्वरे बुटाबारीका बुटन चौधरी विरुद्ध भौतिक सफाया भएको थियो । भने तेस्रो एक्सन २०२९ साल असारमा गरामुनिका विष्णुप्रसाद विमली र इश्वरीप्रसाद चुडाल विरुद्ध भैतिक सफाया भएको थियो ।
चौँथो एक्सन २०२९ साल कार्तिकमा गरामुनिका उद्रकान्त राजवंशी विरुद्ध भौतिक सफाया भएको थियो । भने पाँचौँ एक्सनमा २०२९ साल पुष १० गते शनिश्वरेका धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानी ढकाल विरुद्ध भौतिक सफाया भयो ।
२०३० साल कार्तिक ४ गते छैटौँ एक्सन भयो । यो एक्सनमा दुवागढीका ज्ञानबहादुर बस्नेत विरुद्ध भौतिक सफाया भएको थियो ।
सातौँ एक्सन भने २०३० साल कार्तिकमा भयो । बुधबारेका भक्तबहादुर कोइराला विरुद्ध सातौँ कारबाही भएको थियो । र, यो नै अन्तिम कारबाही थियो ।
झापा आन्दोलनका नेता ओली कसरी पक्राउ परे ?
झापा आन्दोलनका क्रममा केपी शर्मा ओली सक्रिय नेतृत्वमा थिए । सहयोद्धाको हत्या भएपछि उनी भारतको कानपुर पुग्नु पर्यो । तत्कालीन पञ्चायती व्यवस्थाले उनलाई नेपाल फर्कने क्रममा रौतहटबाट गिरफ्तार गरेको हो ।
ओलीलाई २०३० असोज ३० गते तत्कालीन पञ्चायती व्यवस्थाले पक्राउ गरेको थियो । पक्राउपछि पञ्चायती व्यवस्थाले ओलीलाई १४ वर्षसम्म जेल जीवन बिताउन बाध्य बनायो । यस घटनाले झापा आन्दोलनमा गतिरोध पनि सिर्जना भयो ।
झापा आन्दोलन दबाउन सरकारले गरेको प्रयास
झापा आन्दोलनका क्रममा ५ सयभन्दा बढी मानिस गिरफ्तार भएका थिए । ९७ जनालाई ५ वर्षभन्दा कम कारागारबासको सजाय दिइएको थियो ।
१० जनालाई ५ वर्षभन्दा बढीको सजाय र १५ जनालाई जन्मकैदको सजाय तोकिएको थियो । ७ जनाको गोली हानी हत्या भएको थियो । यसका अलावा हजारौँ कार्यकर्ता भारत जान बाध्य थिए ।
राधाकृष्ण मैनाली, नेत्र घिमिरे, नारद वाग्ले, नरेश खरेल गिरफ्तारीमा परे । गिरफ्तारीको क्रम २०३२ सम्म जारी रह्यो ।
कसरी भयो, सुखानी हत्याकाण्ड ?
२०२९ साल फागुन २१ मा झापा आन्दोलनका योद्धाहरुलाई चन्द्रगढी कारागारबाट इलाम कारागार सार्ने क्रममा सुखानीको जङ्गलमा गोली हानी हत्या नै गरियो । जसलाई सुखानी हत्याकाण्डका नामले चिनिन्छ ।
सुखानीको यो हत्याकाण्डमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द्र राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ लगायतका नेताहरुले शहादत प्राप्त गरेका थिए ।
२० को दशकबाट विभाजन सुरु भएको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने, फेरि एकता कायम गर्ने, रूपान्तरण गर्ने एउटा अभियान जसरी झापा आन्दोलनले गर्यो यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्यो ।
फलस्वरुप यो आन्दोलले को–अर्डिनेसन केन्द्र जस्तो संगठन निर्माण गरेर राजनीतिक उचाइ प्राप्त गरेको हो । जसको पछिल्लो राजनीतिक उत्तराधिकारी नेकपा एमाले देशको नेतृत्वदायक शक्तिको रुपमा रहिआएको छ ।