लाहुरे गुरुङको जीवनमा नजुरेको भाइटिका

काठमाडौं । तिहारको पाँचौँ दिन विहानैदेखि टिकाको सर–सामान जोड्न व्यस्त हुन्छन् दिदी-बहिनीहरु । दिदी-बहिनीहरु दाजुभाइसँग सप्तरङ्गी टिका लगाएर स्नेह र सद्भाव साटासाट गर्न आतुर हुन्छन् पनि ।

वर्षमा एक पटक आउने भाइटिका लगाउन टाढा-टाढा भएका दिदी-बहिनीहरु दाजु-भाइ भेट्न आइपुग्छन् । दाजु-भाइ पनि आफ्ना दिदी-बहिनीको हातबाट टिका लगाउन आतुर हुन्छन् । र, कामधाम छाडेर पुग्छन गाउँ घर ।

गाउँभरी टिकाको तयारी चलिरहँदा लमजुङका काल बहादुर गुरुङलाई भने सप्तरङ्गी टिकले एक छेउ पनि छुँदैन । अहिले मात्र होइन करिब ३५ वर्षदेखि उनको निधारमा सप्तरङ्गी टिकाले बास बस्न पाएको छैन ।

तिहारको अन्य ४ दिन गुरुङका लागि उमङ्ग जस्तै बनिदिन्छ । रातो माटोले पोतेको घरमा चिटिक्क पारेर टाँगिएको सयपत्रीले घरको रुप नै फेरिएको हुन्छ ।

यो दृश्यले उनलाई ७५ वर्षको उमेरमा पनि देउसी भैलो खेल्ने रहर जाग्छ । भलै युवा अवस्थामा जस्तो रमाइलोमा झुम्मिन नसके पनि । तर, गुरुङ भाषाको झ्याउरेमा ताल मिलाउन भने अझै खप्पिस छन् उनी ।

गाउँभरिका बृद्धाहरुको नेतृत्व गर्दै देउसी भैलो खेल्ने गर्छन् उनी । गुरुङ जातिको हरेक कार्यमा लोकल रक्सी नभई हुँदैन । उनलाई पनि रक्सी सारै मन पर्छ । स्वास्थ्यका लागि रक्सी जतिसुकै हानिकारक किन नहोस् । उनी कातिक महिनाको चिसो सिरेटोमा युवा वयस्क भाइहरुसँग रोटी र रक्सी खाँदै गाउँभरी देउसी भैलो खेल्न सरिक हुन्छन् ।

उमेरले ७५ वर्षका छन् गुरुङ । उमेर बढ्दै गएपनि काल बहादुर गुरुङको जोस जाँगरमा भने कुनै कमी आएको छैन । अझै पनि फुर्तिलो शरीर लिएर दैनिक आफ्ना काम आफै गर्छन् उनी ।

झन् चाडबाडको समयमा आफ्ना दौँतरीसँगको रमाइलोले उनमा छुट्टै उमङ्ग ल्याएदिन्छ । र, त उमेरले ७५ वर्ष पुगिसक्दा पनि तिहारको देउसी भैलोमा रम्न छाडेका छैनन् उनले ।
तिहारको अन्य दिनमा मन खोलेर रम्ने उनलाई भाइटिकाको दिन भने खल्लो महशुस हुन्छ ।

आफ्नी ७२ वर्षीया श्रीमतीलाई टिका लगाउन माइत पठाउँछन् उनी । घरमा नाती–नातिनीलाई टिका लगाउने विधि सिकाउँछन् । तर, हरेक वर्ष टिकाको दिन उनको मुखबाट निस्किने एउटै शव्द, ‘मेरो त कोही छैन टिका लगाउने मान्छे, तिमीहरु लगाओ । म त मस्त खाने हो, बस्ने हो ।’

उनले यो शव्द बोल्न थालेको पनि लगभग ३५ वर्ष पुग्न लागिसक्यो । आफ्नो भएको एउटा मात्र बहिनी बितेपछि उनको निधार खाली भएको हो ।

हुन त, उनले बहिनीको मृत्युपछि पनि टिका नलगाएका भने, होइनन् । टिका लगाउन र बहिनी अभाव पुरा गर्न उनले बहिनी बनाएका पनि थिए । बनाएकी बहिनीको पनि मृत्यु भएपछि उनले तिहारमा टिका नलगाउने निधो गरेका हुन् ।

कुनै बेला भारत–पाकिस्तानको युद्धमा होमिएका उनी इन्डीयन लाहुरे हुन् । १६ वर्षको उमेरमै लाहुरे भिड्न गएका उनी १९ वर्षसम्म लाहुर बसे ।

लाहुरे जीवनको लामो समयमा उनको निधारमा मुस्किलले केही पटक मात्र सजिएको थियो, सप्तरङ्गी टिका । जब उनी सेवा निवृत भए, उनकी बहिनीले संसार छाडिन् ।

एउटै मात्र बहिनीले छाडेर जाँदा सम्हाँलिन नसकेका सुनाउँछन्, काल बहादुर गुरुङ । बहिनीको मृत्युदेखि भाइटिकाको दिन रमाउन सक्दैनन्, गुरुङ । हरेक समय हाँसी मजाक गरी बस्ने लाहुरे मुहार टिकाको दिन भने उदास र मलिन देखिन्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.