के छ, नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणा-पत्रमा ? (पूर्णपाठसहित)

नेपाली राष्ट्रिय कांग्रेस (रेग्मी गुट र कोइराला गूट) र तथाकथित प्रजातन्त्र कांग्रेसले नेपाली जनताका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय हितहरुप्रति विश्वासघात मात्र गरेका होइनन्, तर नेपालको सामन्ती निरंकुशतावादसित, भारतको प्रतिक्रियावादी पूँजीवादी नेहरु सरकारसित र अंग्रेज–अमेरिकी युद्धखोरहरुसित सहयोग गर्ने निर्लज्ज नीतिको अनवरत रुपले अनुसरण गरिरहेका छन् ।

“विगत चालीस वर्षमा दुई विश्व युद्धहरु भए । पहिलोको फलस्वरुप विश्वको ६ खण्ड भू–भाग पूँजीवादी घेराबाट मुक्त भएको छ र समाजवादीको सोवियत संघको जन्म भएको छ र सबल वैज्ञानिक समाजवाद महान् ऐतिहासिक यथार्थतामा फेरिएको छ ।

यो महान् ऐतिहासिक यर्थाथता पूँजीवादी तथा सामन्ती दासत्व विरुद्ध विद्रोह गर्न सबै मुलुकहरुका शोषित र श्रमजीवी जनतालाई निरन्तर आह्वान हो ।

अतः बेलायत, फ्रान्स र अमेरिकाका पूँजीवादी शासकवर्गहरुले सोभियत संघको विरुद्ध हिटलरी फासिस्टवादलाई उठाए र प्रत्यक्ष रुपले दोस्रो विश्व युद्धलाई बाटो तयार पारे तथा खोले ।

तर, दास्रो विश्व युद्धको फलस्वरुप, सोभियत ध्वस्त नभएको मात्र होइन, बरु पूर्वी तथा दक्षिण–पूर्वी युरोपका कैयन् मुलुकहरुले आफूलाई पूँजीवादी साम्राज्यवादी कैदबाट मुक्त पारेर समाजवादी विश्वको सीमानालाई विस्तारित पारे ।

दोस्रो विश्व युद्धको फलस्वरुप, अन्तर्राष्ट्रिय मजदुर आन्दोलनले ठूलो फड्को मारेको छ र औपनिवेशिक जनताहरुले खुल्ला सशस्त्र विद्रोहको बाटो लिएका छन् । यसरी विश्व पूँजीवादका मोर्चा र पृष्ठभाग गम्भीर खतरामा परेका छन् ।

दक्षिण पूर्वी एशियामा चलिरहेको क्रान्तिकारी छाल हाम्रो प्यारो मुलुक नेपालमा पनि पुगेको छ । एक युग–पुरानो सामन्ती अत्याचारलाई हाँक दिँदै नेपालको मजदूरवर्गले पहिलोपल्ट मार्च १९४७ मा संग्राममा प्रवेश गर्‍यो ।

विराटनगर जूट तथा कपडा मिलहरुका मजदूरहरुले बाँच्न लायक ज्याला र काम गर्ने राम्रो अवस्थाका लागि हडताल गरे । गुप्त रुपमा का. मनमोहन अधिकारीको नेतृत्वमा बनेको मजदूर युनियनले त्यसको नेतृत्व गर्‍यो ।

भारतको विश्वासवादी समाजवादी नेता र निश्कासित राणाहरुद्वारा समर्पित नेपाली राष्ट्रिय कांग्रेसका नेताहरुले हडतातप्रति विश्वासघात गरे ।

हडतालको छाल राजधानीमा पनि फैलियो । काठमाडौंमा, बिजुली तथा टक्सार विभागका सरकारी कर्मचारी र बैंक तथा अस्पताल कर्मचारीहरुले त्यस्तै मागहरु राखेर हडताल गरे । हडतालीहरु कति दृढ थिए भने सरकार तलब बढाउन र रासन दिन बाध्य भयो ।

काठमाडौं उपत्यकाभित्र मात्र तलब–वृद्धि र अन्न–खरिद सुविधाहरु सीमित भएपनि नेपालका सम्पूर्ण जनताले त्यसलाई आफ्नै विजयको रुपमा लिए र आफ्ना अधिकारहरुको सुरक्षार्थ जनसङ्घर्षको खाँचोलाई बुझे ।

२

१३८५ देखि सामन्ती निरंकुशहरुले नेपालमा शासन गर्दैछन् । यी शताब्दीहरुको क्रममा भएका परिर्वतनहरुले राणाहरुको निरंकुशवादलाई मात्र बलियो पारेका छन् । नेपालको केही भागमा पूँजीवादी उत्पादन लागू भएपनि अझसम्म सामन्ती उत्पादन–प्रणाली र प्रशासनको निर्णायक प्रभाव रहेको छ ।

मुलुकमा अझसम्म आत्मनिर्भर प्राकृतिक अर्थतन्त्रको प्रभुत्व छ, तर यो मर्दो रुपमा छ । किसानहरुले आफ्नो खाद्यान्न मात्र होइन आफूले उपभोग गर्ने धेरै जसो आफै पैदा गर्छन् । राणा, जमीन्दार, द्वारे, ठालु र मुखियाहरुले किसानहरुबाट उठाएको तिरो आफ्नै व्यक्तिगत मोजमज्जामा खर्च गर्छन् ।

पहिले सो तिरोलाई चीजहरुको साटासाटमा प्रयोग गरिन्थ्यो । अहिले सामन्ती परजीवीहरुले यस्तो प्रणाली लागू गरेका छन् तापनि त्यसको अझसम्म निर्णायक प्रभाव छैन ।

धेरै जसो जमीन सामन्ती शासकवर्ग, अर्थात् राणा, साहेवज्यू, घरानियाँ, जमिन्दार र गुरुज्यूहरुको मालिकत्वमा छ । किसानहरुको मालिकत्वमा ज्यादै थोरै जमिन छ वा जमीन छैन ।

किसानहरुले आफ्नै ज्यावल प्रयोग गरेर आफ्ना मालिकहरुको जमीन जोत्छन् र ती लोभ पुरा गर्न आफ्नो बालीको तीन–चौथाइ हिस्सा बुझाउँछन् ।

१९२४ मा दास प्रथाको उन्मूलन भएपनि अझसम्म घृणित खालको शारीरिक दण्ड दिने चलन छँदैछ । अझसम्म सामन्ती मालिकहरुले १५ दिनसम्म किसानहरुलाई थुन्ने कानूनी अधिकार पाएका छन् । वास्तवमा किसानहरुको स्थिति भूदासको भन्दा राम्रो छैन ।

किसानहरुले सारा राणाहरु र सामन्ती मालिकहरुद्वारा गरिने शोषणको असह्य भार बोक्नु परेको छ र त्यसका साथै नजराना, कर तथा बेगारी दिएर सम्पूर्ण सामन्ती नोकरशाही र जन–विरोधी सरकारी सेनालाई पनि कायम राख्नु परेको छ ।

मल्ल वंशको शासनकालमा नेपालमा धेरै सामन्तहरुले शासन गर्थे । तर १७६९ देखि नेपाल राणाहरु र तिनका सामन्ती पिठ्ठुहरुद्वारा शासित एक केन्द्रिकृत सामन्ती निरंकुश राज्य बनेको छ ।

नेपाली किसानहरुले कुनै पनि व्यक्तिगत, शारीरिक वा राजनैतिक स्वतन्त्रताको उपभोग न पहिले गरेका थिए न अहिले गरेका छन् । सामन्ती शासक गुटद्वारा गरिएको कठोरतम रुपको शोषण तथा उत्पीडनको कारणले गर्दा नेपालको सामाजिक व्यवस्था शताव्दीयौं देखि प्रायः गतिहीन रहेको छ ।

‘कोत पर्व’ को रुपमा परिचित बलप्रयोगद्वारा सत्ता अपहरणबाट राणाहरु सत्तामा आउने वित्तिकै, विदेशी साम्राज्यवादीहरुले नेपालमा छिटो–छिटो आफ्नो प्रभाव बढाउन थाले ।

यो कतिसम्म बढेको छ भने आज नेपाल वास्तवमा विदेशी साम्राज्यवादीहरुको अर्ध–उपनिवेश रहेको छ । त्यसवेला देखि नेपाल ब्रिटिश साम्राज्यवादीहरुका लागि भरौटेहरु भर्ति गर्ने एक मुख्य स्थान बनेको छ र महाराणा त्यसको मुख्य एजेन्ट रहेको छ ।

आज पनि भारतको पूँजीवादी नेहरु सरकारले ब्रिटिश साम्राज्यवादीहरुलाई ब्रिटिश उपनिवेशहरुको मुक्ति सङ्र्घषलाई दबाउन भोका युवा किसानहरुमध्येबाट हजारौं सिपाही भर्ती गर्न दिरहेको छ । ब्रिटिश एकाधिकार पूँजीको नाफाको रक्षा गर्न अपराधी महाराणाले गरीब नेपाली युवकहरुको जीवन र रगतको बिक्री गरिरहेको छ ।

यसका अतिरिक्त बाल स्ट्रीटका एजेन्टहरुले नेपालमा प्रभुत्व जमाएका छन् र उनीहरु हाम्रो पवित्र भूमिमा सोभियत–विरोधी सैनिक अड्डाहरु बनाउने योजना गर्नमा व्यस्त छन् । भारतीय पूँजीपतिहरु पनि नेपालमा आफ्नो शोषणका जालहरु फैलाउँदै छन् ।

नेपालमा जनवादी आन्दोलनको उठ्दो लहरको विरुद्ध आफ्नो स्थितिलाई बलियो पार्न महाराणाले उक्त सब विदेशी शोषकहरुलाई निम्त्याइरहेको छ ।

के कुरो स्पष्ट छ भने जो शासक अंग्रेज–अमेरीका साम्राज्यवाद र भारतीय पिछलग्गूहरुको दलाल मात्र बनेको छ उसले भोका जनताको एउटा पनि समस्या हल गर्न सक्दैन । उसले जनताका समस्याहरुलाई बढाउन र चर्काउन मात्र सक्छ र वास्तवमा अहिले उसले यस्तै गर्दैछ ।

यस्तो भयानक थिचोमिचोको विरुद्ध नेपाली जनता आन्दोलित भएका छन् । पूँजीवादी उत्पादन–प्रणालीको स्थापनाले गर्दा आधुनिक समाजको सबभन्दा क्रान्तिकारी वर्ग, मजदूवर्गको जन्म हुँदैछ ।

घृणित महाराणाको विरुद्ध प्रजातान्त्रिक अधिकारहरुका लागि ऐतिहासिक हड्ताल संग्रामहरुमा नेपालको मजदूरवर्गले आफ्नो क्रान्तिकारी गुणको प्रदर्शन गरिसकेको छ ।

नेपालको इतिहासमा सर्वप्रथम जनताले राजनैतिक अधिकारहरुको माग गरेर काठमाडौंका सडकमा प्रदर्शन गरे । फेरि, नेपालको जीवनमा पहिलोपल्ट विद्यार्थीहरुले शिक्षण संस्थाहरुभित्र राजनैतिक सभाहरु गरे र उनीहरु नागरिक अधिकारहरुको माग बुलन्द गर्दै सडक प्रर्दशनमा उत्रे ।

उक्त आन्दोलनलाई निर्ममतापूर्वक दबाइयो, तरपनि शासकवर्गले बाध्य भएर जनताले नागरिक अधिकारहरु दिन र राजबन्दीहरु छोड्न कबुल गर्नु परेको थियो । लडाकु जनताले यसलाई ठीक रुपमा महाराणा र उनको गूटका कमजोरीको स्वीकारोक्ति र आफ्नो बढ्दो तागतको प्रमाण ठानेका छन् ।

३

दोस्रो विश्वयुद्धको अन्तपछि सम्पूर्ण संसार दुई शिविरमा विभाजित भएको छ । अमेरीका तथा अंग्रेज एकाधिकारी पूँजीद्वारा नेतृत्व गरिएको साम्राज्यवाद, प्रतिक्रियावाद तथा युद्धको शिविर र समाजवादी सोभियत संघद्वारा नेतृत्व गरिएको साम्राज्यवाद विरोधी, जनवाद तथा शान्तिको शिविर ।

अंग्रेज–अमेरिकी साम्राज्यवादी युद्धखोरहरुले संसारभर प्रत्येक मुलुकभित्र जनवादी शक्तिहरुको उठ्दो लहरविरुद्ध प्रतिक्रियावादीहरुलाई सक्रिय सहयोग गरिरहेका छन् र उपनिवेश तथा अर्ध उपनिवेशका मुक्ति संघर्षहरुको विरुद्ध आक्रमणकारी युद्ध चलाइरहेका छन् ।

आसन्न पूँजीवादी संकटबाट उम्कने र अमानवीय शोषणको आफ्नो टाटपल्टेको पूँजीवादी व्यवस्थालाई जोगाउने उद्देश्यले तिनीहरुले सोभियत संघ र लोकजनवादी राज्यहरुको विरुद्ध तेस्रो विश्व युद्ध भड्काउन हतारमा तयारी गर्दैछन् ।

नेपालका शासक गूटहरुले यस साम्राज्यवादी शिविरहरुलाई खुल्ला रुपमा साथ दिएका छन् र आज प्रतिक्रियावादका इमान्दार चाकरको रुपमा काम गर्दैछन् । आफ्नो जालसाजी प्रचार–यन्त्रको व्यापक प्रयोग गरेर राणाहरुले जनतालाई के विश्वास दिलाउन खोज्दैछन् भने बेलायत, अमेरिका र भारतसित भएको उनीहरुको विश्वासघाती गठबन्धनले हाम्रा जनताका लागि शान्ति सुख ल्याउने छ ।

स्वर्गीय प्रधानमन्त्री पद्म शम्शेर राणाले कतिसम्म पनि भने–नेपालमा प्रजातन्त्र स्थापना भइसकेको छ । वर्तमान प्रधानमन्त्री मोहन शम्शेर राणाले आधुनिक राज्यको रुपमा नेपालको निर्माण गर्न एक पञ्च वर्षीय योजनाको घोषणा समेत गरेका छन् । तर यी आँखामा धुलो फ्याक्ने कुरा मात्र हुन् ।

वास्तवमा राणाहरुको तरिका अमेरिकी युद्धखोरहरुको सेवामा नेपाललाई युद्ध अखडा बनाउन दिने तरिका हो ब्रिटिश साम्राज्यवादको रक्षामा नेपालको मानव शक्ति प्रदान गर्ने तरिका हो, र नेपालको व्यापारमा तथा वाणिज्य भारतीय पूँजीपतिवर्ग र त्यसको नेहरु सरकारको सेवामा लगाउने तरिका हो ।

महाराणासित सन्धि गरेर केही अमेरिकी व्यापारिक संस्थाहरुले आगामी तीस वर्षका लागि पश्चिम नेपालको केही भागहरुलाई आफ्नो नियन्त्रणमा लिइसकेका नै छन् । काठमाडौं स्थित अमेरिकी मिसनले हाम्रो मुलुकलाई आफ्नो उपनिवेशमा परिणत गर्न जोडतोडले काम गर्दैछ ।

१५१८ देखि नेपालको मानव–शक्तिको उपयोग गरिआएका ब्रिटिश साम्राज्यवादीहरु पनि यस निन्दनीय काममा त्यत्तिकै संलग्न छन् । ब्रिटिश, भारतीय र नेपाल सरकारहरुका बीच नभेम्बर ९, १९४७ काठमाडौंमा हस्ताक्षर गरिएको सन्धिको एउटा धारा यस प्रकार छ :

‘भारतीय सरकारले के कुरालाई सकारेको छ भने भारत वा नेपालको कुनै ठाँउमा अर्को भर्ती केन्द्र नबनेसम्म ब्रिटिश सरकारले पहिले झै गोरखपुर र घूमका भर्ती केन्द्रहरुको प्रयोग गर्नेछ ।’
उपरोक्त एउटै धाराले नेहरु सरकार र महाराणा सरकारको ‘तटस्थाता’ तथा ‘स्वाधीनता’ सम्बन्धी कथालाई धुजाधुजा पारिदिएको छ ।

फेरि सो धाराले के नांगो सत्यलाई प्रमाणित गरेको छ भने नेहरु सरकार र नेपाल सरकार दुवै प्रतिक्रियावाद तथा युद्धको साम्राज्यवादी शिविरका सक्रिय सहभागी तथा चाकर हुन् ।

नेपाली जनताको दुर्भाग्य यतिमा मात्र सीमित रहेको छैन । नयाँ दिल्लीमा आफ्नो सरकारको संरक्षण तथा निर्देशन पाएका भारतीय ठूलो बन्दव्यापारले एक ठूलो युद्धमा नेपालको ढोका ‘खोलिरहेको’ छ ।

विडला, सिन्धारिया र चौधरियाले नेपालमा जुट, कपडा र चिनी मिलहरु खोलेका छन् । नेहरु सरकार आफैले कोशी योजना लिएको छ । आज नेपालमा लगानी हिस्सा भारतीय पूँजीपतिहरुको छ ।

यी भारतीय पूँजीवादी लुटेराहरु नेपालका सस्तो श्रम र प्राकृतिक साधन स्रोतहरुको शोषणमा लागेका छन् र उनीहरुको उद्देश्य आफ्नै थैली भर्नु हो र नेपालको औद्योगिकीकरण गर्नु होइन, किनभने उनीहरु औद्योगिकीकरण गर्न अनिच्छुक मात्र होइन, असमर्थ पनि छन् ।

यसरी नेपाली जनता दोहोरो शोषणको जाँतोमुनि पिसिँदै छन् । सामन्ती शोषणको टेवा दिँदैछ । आफ्नो प्राकृतिक अर्थतन्त्रको स्थितिबाट छुट्टिएर नेपाल अचानक विश्व पूँजीवादी अर्थतन्त्रको आँधीमा पर्न गएको छ र आसन्न संकटको खतरनाक समाघातमा परेर काँपिरहेको र टुटिरहेको छ । यसबाट नेपाली जनताको मुक्ति होइन, विनाश हुनेछ ।

त्यसैले नेपाली जनताले एउटा भिन्न बाटो लिन पर्छ । त्यो बाटो हो विश्व जनवादी शिविरसित सक्रिय मेल गरी विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी–पूँजीवादी आधिपत्यलाई पुरै खत्तम पार्नु र मजदूर वर्गको नेतृत्वमा मेहनतकश जनताको जनवादी राज्य स्थापना गर्नु, अर्थात यस्तो राज्य व्यवस्था स्थापना गर्नु जसमा जनता राष्ट्रको सम्पतिको मालिक हुनेछन् र यसलाई आफ्नै फाइदाका लागि विकसित गर्नेछन् ।

विजयी समाजवादको देश सोभियत संघको अनुभव र पूर्वी युरोपका लोक जनवादी राज्यहरु, नयाँ चीन, उत्तर कोरिया तथा अघि बढिरहेका औपनिवेशिक जनताका अनुभवहरुले नेपाली जनतालाई दिन प्रतिदिन यस गौरवपूर्ण संघर्षमा प्रेरणा दिँदैछन् किनभने तिनले सर्वत्र उत्पीडित जनतालाई प्रेरणा दिन्छन् ।

सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी आधिपत्यलाई खतम पार्ने संघर्षमा मजदूरवर्गले अग्रणी भूमिका खेल्नु परेको छ र यो इतिहासले त्यसको काँधमा हालिदिएको अभिभारा हो ।

आज संख्यामा थोरै भएपनि, नेपालको मजदूरवर्ग पूँजीवादी शोषण तीव्र हुँदै गएको सिलसिलमा दिन प्रतिदिन संख्यात्मक र राजनैतिक दृष्टिले बलियो हँदैछ ।
‘सोभियत संघको कम्युनिष्ट पार्टी (बो.) को इतिहास’मा कामरेड स्टालिनले भन्नुभएको छ :

‘त्यसैले हामीले आफ्नो कार्य–दिशाको आधार समाजका त्यस्ता अँगहरुलाई बनाउनु हुन्न, जो प्रमुख शक्ति रहेता पनि, विकसित भइरहेका छैनन् । बरु हामीले त्यस्ता अंगहरुलाई आफ्नो आधार बनाउनुपर्छ, जो अहिले प्रमुख शक्ति नहरे तापनि, विकसित भइरहेका हुन्छन् र जसको सामु भविष्य छ ।’

नेपालमा विकासशील वर्ग–संघर्षप्रति यस्तो द्वन्द्वात्मक–भौतिकवादी दृष्टिकोणको मद्दतबाट मात्र क्रान्तिकारीहरुले सही रणनीतिको प्रतिपादन गर्न र त्यसलाई माक्र्स–एङ्गेल्स–लेनिन–स्टालिनको अजेय झण्डामुनि विजयसम्म बढाउन सक्नेछन् ।

४

हामी नेपालका मजदूर, किसान सिपाही, श्रमजीवी, मध्यम वर्गहरु र सारा प्रजातन्त्रप्रेमी जनतालाई के अपिल गर्छौं भने उनीहरु सामन्ती एकतन्त्रवादको विरुद्ध आफ्ना सबै प्रिय आंकाक्षाहरुको सिद्धीकरणका लागि एउटा साझा मोर्चामा एकगठ होउन् । हामीले के कुरामा पूर्ण विश्वास छ भने जनवादी शक्तिहरु तलको जनवादी कार्यक्रमको आधारमा ठोस रुपले एकगठ हुन सक्छन् :

१. सामन्ती एकतन्त्रवाद तथा विदेशी आधिपत्यको पूर्ण उन्मूलन र पूर्ण तथा वास्तविक स्वाधिनता ।

२. मजदूर श्रमजीवी किसान र उत्पीडित निम्न पूँजीपतिवर्गको प्रतिनिधित्व गर्ने जनवादी सरकार जसले अंग्रेज–अमेरीकी साम्राज्यवाद र त्यसका भारतीय पिछलग्गुहरु सित सहयोगको विरोध गर्दछ र शान्ति तथा सबै जातिहरुको स्वतन्त्रताका लागि क्रियाशील जनवादी राज्यहरुसित सहयोग गर्दछ ।

३. बालिग मताधिकारमा आधारित संविधान, जसले सर्वसाधारणलाई पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र र आधारभूत आर्थिक अधिकारको ग्यारेण्टी गर्दछ । विशेषाधिकारहरु र जातपात, नस्ल र जातिको आधारमा गरिने भेदभाव कानूनद्वारा खतम पारिने छ र यसको उल्लंघनलाई कानूनद्वारा दण्डनीय पारिनेछ ।

४. बिनामुअव्जा जमीनदारी प्रथा र सबै खालको सामन्ती शोषणको उन्मूलन र जोताहाहरुलाई जमीनको वितरण गर्नू । ग्रामीण ऋण खतम गर्नू । कृषि मजदूरहरुलाई जीवनयोग्य ज्याला ।

५. बैंक, औद्योगिक तथा यातायात व्यवसाय, बाटिका, खानी, आदिमा लगाइएको विदेशी पूँजी राज्यद्वारा जफत गर्नु र ती व्यवसायहरुको राष्ट्रियकरण गर्नु

६. ठूल–ठूला उद्योगहरु, ठूला बैंकहरु र बीमा कम्पनीहरुको राष्ट्रियकरण, मजदूर नियन्त्रणको ग्यारेण्टी, न्युनतम जीवनयोग्य ज्याला, आठ घण्टा कामको दिन, आदि ।

७. मुलुकका साधन स्रोतहरुको विकास गर्न आर्थिक योजना र रणनैतिक आर्थिक केन्द्रहरुबाट ठूलो व्यवसायलाई हटाउनु निजी उद्योगहरुमा नाफामाथि नियन्त्रण ।

८. सबै दमनकारी कानूनहरु खारेज गर्नु ।

९. नोकरशाहीको उन्मूलन र निर्वाचित अधिकारीहरु सहितको र जन–समितिहरुद्वारा निर्देशित प्रशासन ।

१०. आम जनतालाई सशस्त्र पार्नु र जनताको जनवादी सेना स्थापना गर्नु ।

११. स्वतन्त्र शिक्षा र अनिवार्य प्राथमिक शिक्षा प्राप्त गर्ने अधिकार ।

१२. महिलाहरुलाई समान प्रजातान्त्रिक अधिकारहरु ।

जनवादी मोर्चा र यसको निर्माण गर्ने नेपाल कम्युनिष्ट पार्टीले नेपालको विश्वासघाती राजनैतिक पार्टी तथा नेताहरुको विरुद्ध दृढ रुपमा संघर्ष गर्नुपर्छ र जनताका झुठा मित्रहरुलाई निर्ममतापूर्वक उदांग र एक्लो पार्नु पर्छ ।

जुन हदसम्म बिगार्नेहरुको विरुद्ध संघर्ष चलाई तिनलाई परास्त गरिन्छ त्यति हदसम्म नै नेपालमा जन संघर्षले वास्तविक क्रान्तिकारी वेग प्राप्त गर्नेछ ।

नेपाली राष्ट्रिय कांग्रेस (रेग्मी गुट र कोइराला गूट) र तथाकथित प्रजातन्त्र कांग्रेसले नेपाली जनताका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय हितहरुप्रति विश्वासघात मात्र गरेका होइनन्, तर नेपालको सामन्ती निरंकुशतावादसित, भारतको प्रतिक्रियावादी पूँजीवादी नेहरु सरकारसित र अंग्रेज–अमेरिकी युद्धखोरहरुसित सहयोग गर्ने निर्लज्ज नीतिको अनवरत रुपले अनुसरण गरिरहेका छन् ।

आफ्ना मुखपत्र र भाषणहरुमा उनीहरुले सोभियत संघ, गौरवशाली चीनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनियाँ जनताको वेगवान् विजय, मलाया, भियतनाम, शियाम तथा इण्डोनेशियाको विरुद्ध विषालु बदनामीहरु ओकलिरहेका छन् ।

उनीहरुको भनाइ अनुसार, महाराणाको घृणित सरकार नेपालको श्रमजीवी जनताको साझा शत्रु होइन । उनीहरुको भनाइ अनुसार , कम्युनिज्म र कम्युनिष्टहरु नेपालका लागि मुख्य खतरा हुन् र उनीहरु कम्युनिज्मको विरुद्ध आफ्नो ‘पवित्र अभियान’ मा महाराणाहरुको रक्तरंजित हातसित हात मिलाउन समेत इच्छुक छन् ।

कम्युनिज्मको विरुद्ध उनीहरुको पाखण्डी घृणामा मौलिक कुरो केही पनि छैन । यो त संसार भरका जन–शत्रुहरुको सुपरिचित तथा दिवालिया नीति हो । कम्युनिज्म–विरोधलाई आवरण बनाएर उनीहरु आफ्नो अपराधपूर्ण निहित स्वार्थको रक्षा गर्न शोषित जनताको विरुद्ध लड्छन् ।

उदयमान मध्यम वर्गको सानो तहको प्रतिनिधित्व गर्ने रेग्मी र खुद आफै सामन्ती मालिक रहेका असन्तष्ट राणाहरु श्रमजीवी जनताको शोषणलाई खतम पार्नमा बिलकुल चासो राख्दैनन् ।

उनीहरु विद्यमान सत्तासित सम्झौता गर्न चाहन्छन् र जनताको रगत चुस्नमा उचित हिस्सा प्राप्त गर्न मात्र उत्सुक छन् । आफ्नो खराब उद्देश्य सिद्ध गर्नको लागि उनीहरु जनताको वास्तविक असन्तोषसित खेलवाड गर्छन, विरोधको टोपी लगाउँछन् र नक्कली वीरता देखाउँछन् ।

तर सदासर्वदा उनीहरु आमजनताको क्रान्तिकारी शक्ति र अग्रसरतालाई रोक्न भगीरथ कोशिस गर्दछन् । तर जब जन असन्तोषले सारा छेकवारलाई भत्काउन लागेको हुन्छ, अनि यी वाग्बहुल वीरहरु अहानिकर सत्याग्रह संघर्ष चलाउछन् र सो संघर्षले आम क्रान्तिकारी चरित्र लिन थाल्ने बित्तिकै उनीहरु संघर्षरत जनताको पीठपछाडि संघर्षलाई फिर्ता लिन्छन् र महाराणासित गर्हित संझौता गर्छन् । उनीहरुले हालसालै मात्र यसो गरेका छन् ।

कम्युनिष्टहरु श्रमजीवी जनताको संघर्षका सबभन्दा सम्झौताहीन समर्थन हुन् । त्यसैले, स्वभावयः यी गद्दारहरु कम्युनिष्टहरुको विरुद्ध आफ्नो मुख्य हमलालाई केन्द्रित पार्छन् । शोषित जनताप्रतिको विश्वासघात र शोषकवर्गहरु प्रतिको अधीनस्थतालाई लुकाउन उनीहरुले ‘तेस्रो बाटो’ को झुठो नारा उठाएका छन् ।

अंग्रेज–अमेरिकी एकाधिकारी पूँजीको नेतृत्वमा रहेको पूँजीवादको शिविर र सोभियत संघ तथा अन्तर्राष्ट्रिय मजदूरवर्गको नेतृत्वमा रहेको समाजवादको शिविरमा माझ स्पष्ट रुपले विभाजित संसारमा कुनै ‘तेस्रो बाटो’ कुनै ‘मध्यम मार्ग’ को नीति हुन सक्दैन ।

उपयुक्त दुई बाटोमा एउटा सबैले चुन्नै पर्छ । ‘तेस्रो बाटो’ को नारा प्रतिक्रियावादसितको गठबन्धन र विश्वासघाती अनुहारलाई लुकाउन प्रयोग गरिएको राजनीतिक छद्मभेष हो । नेहरुको ‘तेस्रो बाटो’ यसको एउटा घिनलाग्दो प्रमाण हो ।

नेहरुले ‘तेस्रो बाटो’ बाट सुरु गरेर केही महिनाभित्रै उनी साम्राज्यवादी–पूँजीवादी–सामन्ती गठबन्धनको शिविरमा सामेल भए । तेस्रो बाटोको अनिवार्य गन्तव्य स्थान यही हो । यो अन्तर्राष्ट्रिय सामाजिक जनवादको घृणित झण्डा हो, मजदूरवर्गप्रति विश्वासघातको झण्डा हो ।

हामी नेपालका प्रजातन्त्रवादी जनतालाई के आह्वान गर्छौ भने उनीहरु यी झूठा मित्रहरुबाट यो नक्कली प्रजाातन्त्रवादीहरुबाट सर्तक होउन् र उनीहरुले सोभियत संघद्वारा नेतृत्व गरिएको विश्व साम्राज्यवादी शिविरको पक्षमा दरो अडान लेउन् र लोक जनवादको लागि सम्झौताहीन संघर्षलाई अगाडि बढाउन् ।

शोषित, पददलित जनताका पंक्तिमा रहेका दाजुभाइ दिदी बहिनीहरु हो ! संसारका संघर्षरत जनताका नेता समाजवादी सोभियत संघको विरुद्ध हाम्रो पवित्र मातृभुमिलाई साम्रज्यवादी युद्ध अखाडामा फेर्ने अपराधी योजनालाई विफल पार्न दृढ रुपमा संघर्ष गर्नुहोस् । नेपालका श्रमजीवी जनताले कहिले पनि सोभियत संघको विरुद्ध संघर्ष गर्ने छैनन् । आफ्नो वर्गीय दाजुभाइहरुको विरुद्ध कहिले पनि हात उठाउने छैनन् ।

विदेशमा साम्रज्यवादी डकैतीको रक्षार्थ रगत बचाउन इन्कार गर्नुहोस् । नेपालका गरिब जनताहरुले अरु मुलुकहरुमा गरीब जनताको शोषण गर्नमा साम्रज्यवादी उपनिवेशवादीहरुलाई किन मदत गर्ने ?

नेपालका गरीब जनताले हाम्रो मुलुक र जनतामाथि आधिपत्य जमाइरहेको उही अंग्रेज–अमेरीकी साम्रज्यवादीलाई बलियो पार्न आफ्नो जीवनको बालिदान किन गर्ने ?

बर्मा मलाया र अन्य दक्षिण–एसियाली मुलुकहरुको मुक्ति संघर्षको विरुद्धमा लड्न इन्कार गर्नोस्, किनभने ती मुलुकहरुका जनताहरु पनि उही मागका लागि र उही शोषक वर्गहरुको विरुद्ध लडिरहेका छन्, जुन मार्गको लागि र जुन शोषक वर्गको विरुद्ध नेपाली जनता आफ्नो मुलुकमा लडिरहेका छन् ।

शोषितहरुको विरुद्ध होइन्, शोषकहरुको विरुद्ध लड्न कम्मर कस्नुहोस् । आफ्नै दाजुभाइहरुतिर होइन्, सर्वसाधारण जनताका शत्रुहरु तिर आफ्नो बन्दुक सोझ्याउनुहोस् । आफ्ना दाजुभाइहरुको विरुद्ध लड्नुको अर्थ आफ्नै दासत्वलाई बलियो पार्नु हो ।

घृणित महाराण र उनका अधिकृतहरुको आदेशमा आफ्नो मुलुकका आफ्नै जनतालाई दबाउन दृढतापूर्ण ईन्कार गर्नुहोस् । महाराणा र उनको साँगुरो गुटले तपाईहरुलाई तपाइको जग्गाको हकबाट वञ्चित पारेका छन्, तपाईहरु र तपाईहरुका नातेदारहरुलाई भोकको मुखमा हालेका छन् र अनि तपाईहरुको अति गरिबीबाट फाइदा उठाएर आफ्नो लुट बचाउन आफ्नो शसस्त्र चाकरको रुपमा तपाईहरुलाई भर्ती गरिरहेका छन र विदेशी सामज्यवादीहरुलाई भरौटेको रुपमा तपाईहरुको बेचविखान गरिरहेका छन् । सेनामा तपाईहरुको जीवन एक सतत् अपमान हो । आफ्नै भोका दाजुभाइ तथा दिदी बहिनीहरुलाई गोली हान्न इन्कार गर्नुहोस्, थिचाह, शोषकहरुतर्फ आफ्नो संगित सोझ्यानुहोस् । आफ्ना संघर्षरत जनताको पक्ष लिनुहोस । यो नै मुक्तिको बाटो, सम्मानको बाटो, जीवनको बाटो हो ।

नेपालका मजदुरहरु हो ! तपाईहरुले मार्च १९४७ का आफ्ना पहिला हडताल संग्रामहरुको बेलामा नै आफ्नो झन्डा, विश्व सर्वहारावर्गको अन्तर्राष्ट्रिय एकताको झण्डा उठाउनु भएको छ ।
निष्कासित राणाहरु र भारतको समाजवादी नेताद्वारा सर्मथित कांगे्रसी नेताहरुले तपाईहरुको वर्ग शत्रुसितको पहिलो मुडभेडप्रति विश्वासघात गरेपनि त्यो मुलुकभर फैलियो । काङ्ग्रेसी गद्धारहरुले औपचारिक रुपले हडताल गर्ने घोषणा गरिसकेपछि पनि राजधानीमा विभिन्न विभागका सरकारी कर्मचारीहरुले बाँच्न योग्य ज्याला र राम्रो कामको ब्यावस्थाका लागि हडताल गरे ।

अब, एकताबद्ध तागतद्वारा आफ्नो संघर्षलाई अघि बढाउनका लागि सबै जिल्लाहरुबाट प्रतिनिधिहरु राखी आफ्नो स्वतन्त्र मजदुर संघ गठन गर्नुहोस् र उर्पयुक्त महत्वपूर्ण मागहरुको तत्कालको पुर्तिका लागि, बाँच्न योग्य ज्याला, आठघण्टा कामको दिन, कामको रामो अवस्था, सेवाको सुरक्षा, बुढेसकालमा भत्ता, केटाकेटीहरुका निम्ति मुफ्त शिक्षा, पूर्ण संघीय मजदुर अधिकारहरुको कार्यान्वयनका लागि आफ्ना शक्तिहरुको परिचालन गर्नुहोस् ।

मजदर साथीहरु हो ! एकता, संगठन र संघर्षमा हाम्रो तागत रहेको छ । नयाँ नेपाल र प्रजातान्त्रिक जीवन–पद्धति निर्माणका लागि लाल झन्डाको नेतृत्वमा नयाँ संग्रामहरुतर्फ अगाडि बढ्नुहोस् ।
नेपालका श्रमजीवी किसान हो ! वर्तमान सामन्ती ब्यावस्थाको विरुद्ध कठोर सम्झौताहीन संघर्षबाट नै तपाईहरुको मुक्ति हुनेछ । यस गौरव संघर्षमा न तपाईहरु कमजोर हुनु हुन्छ, न एक्लो । तपाइहरु मुलुकमा अत्याधिक बहुसंख्यामा हुनु हुन्छ । वीरतापुर्ण मजदुरवर्ग यस संघर्षको अघिल्लो मोर्चामा उभिएको छ र नेपाल, भारत, पाकिस्तान तथा समस्त विश्वका सबै प्रजातान्त्रिक शक्तिहरु तपाईको साथमा छन् ।

लाल झण्डाको नेतृत्वमा मुलुकव्यापी स्तरमा आफ्नो स्वतन्त्र जनसंगठन बनाउनुहोस् र तलका मागहरु पुरा गर्न दृढ संघर्ष चलाउनुहोस ।

१. जमीन जोत्नेलाई देऊ ।

२. खेत मजदुरहरुमा पर्ती जग्गा वितरण गर ।

३. गैर–कानूनी नजराना तथा बेठ बेगारी खारेज गर ।

४. विभाग तत्काल लागू गर ।

५. खेत मजदुरहरुका लागि बाँच्नयोग्य ज्याला ।

६. पूर्ण नागरिक स्वतन्त्रता ।

नेपालका विद्यार्थी तथा जनवादी युवाहरु हो ! नेपालको पहिलो राष्ट्रिय संघर्षमा तपाईहरुले गौरवशाली भुमिका खेल्नुभएको छ र प्रशस्त रगत बगाउनु भएको छ ।

युवा गंगालालको अमर प्राणोत्वर्गले तपाईहरु धेरै जनालाई नयाँ संग्राम र नयाँ वलिदानको लागि अभिप्ररित गरेको छ । १९३० का एकजना वीर श्री खड्गमान अझसम्म आफ्नो आँगमा सिक्री र नेलसहित जेलमा सडिरहनु भएको छ ।

दैनिक परिपक्व संग्रामहरुद्वारा उक्त परम्परालाई अरु उचाईमा उठाउने समय र बोलाहट भएको छ । आजसम्म तपाइहरुले स्वतन्त्र लडाकु जनसंगठन नहँुदा विश्वासघाती र अवसरवादीहरुले

तपाईहरुलाई मझदारमा अलपत्र छोड्ने मौका पाएका छन् । त्यसैले तलका मागहरुका लागि लड्न आफ्नो स्वतन्त्र लडाकु, प्रजातान्त्रिक जनसंगठन बनाउन अघि बढ्नुहोस ः

१. सर्वसाधारण जनताका लागि पूर्ण प्रजातान्त्रिक अधिकारहरु ।

२. प्रजातान्त्रिक शिक्षा प्रणाली, मुक्त अनिवार्य प्राथमिक शिक्षा, उच्चस्तरमा सस्तो शिक्षा ।

३. पूर्ण शैक्षिक अधिकार

४. सच्चा स्वाधिनता, प्रजातन्त्र र शान्तिका लागि ।

नेपालका श्रमनीवी महिलाहरु हो ! तपाइहरुको बढ्दो सघर्ष र लडाकुपनाको स्वागत गर्दछौँ । मार्च १९४७ विराटनगर जुट तथा कपडा सिलाइका श्रमजीवी महिलाहरुले आफ्ना पुरुषहरुसँग काँधमा काँध मिलाएर लडेका छन् ।

त्यही सालमा महिलाहरुले राणाको आतङकलाई हाँक दिँदै, काठमाडौँका सडकमा प्रदर्शन गरेका छन । जन आक्रोसको स्तरदेखि डराएर, राणा सरकारले बाध्य भई नगरपालिकीय प्रशासन जनताको हातमा सुम्पयो । तर निर्वाचनमा महिलाहरुलाई मतदान गर्ने अधिकारबाट बञ्चित पारियो ।

नेपालका श्रमजीवी महिलाहरुले चुपचाप सहेर बस्न इन्कार गरे । एउटा प्रतिनीधिमण्डल बनाएर उनीहरु प्रधानमन्त्रि निवास तर्फ गए । यसबाट तपाईहरुको लड्ने तथा अधिकार प्राप्त गर्ने अठोट देखिएको छ । सामाजिक, आर्थिक तथा राजनैतिक तेहोरो थिचोमिचोका विरुद्ध लड्न आफ्नो महिला संगठन ब्नाउनुहोस् ।

तलका मागहरु उठाउनुहोस् र सम्झौताहीन संघर्षद्वारा त्यसलाई टेवा दिनुहोस् ः

१. समान कामको लागि समान तलब ।

२. राष्ट्रिय जीवनका सबै क्षेत्रहरुमा समान अधिकारहरु ।

३. सुत्केरी सुविधा र केटाकेटीका लागि सुरक्षित जीवन ।

४. मुफ्त शिक्षा

५. विदेशमा साम्राज्यवादी सेनाहरुमा रहेका हाम्रा छोरा, र लोग्नेहरु फिर्ता देऊ ।

६. स्वतन्त्र, लोक जनवादी नेपाल ।

अतः नेपाल कम्युनिष्ट पार्टी श्रमजीवी जनताको विकासशील संघर्षमा भाग लिने र त्यसलाई संगठित पार्ने तथा नेतृत्व दिने काममा आफूलाई सर्मपित गर्दछ ।

यसलाई सो बाटोबाट आतङक वा झुटो प्रचारले विचलित पार्न सक्नेछैन । अन्य पूँजीवादी तथा निम्न पूँजीवादी पार्टीहरुले जनताहरुप्रति विश्वासघात गरेका छन् र पछि पनि गर्दै रहनेछन् ।

नेपाल कम्युनिष्ट पार्टी मजदुरवर्गको पार्टी, माक्र्सवाद लेनिनवादको पार्टीले आँधीवेरीमा जनतामा साथ दिनेछ, र यसले के प्रतिज्ञा गर्छ भने यसले सच्चा स्वतन्त्रता तथा लोेक जनवादको लागि संघर्षको अघिल्लो पङ्तिमा उभी लड्दै रहने छ ।

नेपाल कम्युनिष्ट पार्टी शोषकहरुलाई ठोक्ने जनताको मुड्की हो । तसर्थ हामी मजदूर वर्ग, भुमिहीन तथा गरीब किसानहरुका सर्वोत्तम छोरा छोरीहरुलाई र जनवादी विद्यार्थी, युवा तथा महिलाहरुलाई नेपाल कम्युनिष्ट पार्टीका जुझारु पङ्तिहरुमा सामेल हुन आह्वान गर्दछौँ, एउटा वलियो जुन कम्युनिष्ट पार्टीले क्रान्तिका जनवादी शक्तिको नेतृत्व गर्न सक्छ ।”

© 2021 Quicknepal.com  |  All Rights Reserved.