जनकपुरधाम । प्रदेश २ सरकारले जनकपुर चुरोट कारखाना(जचुकाली) को प्रयोगविहीन पावर हाउस र छापाखाना लिन पहल थालेको छ । जचुकालि बन्द भएसँगै प्रयोगमा नरहेका पावर हाउस र छापाखानालाई सञ्चालनमा ल्याउन प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चारमन्त्रालयले पहल गरेको हो ।
केही दिनअघि आन्तरिम मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साह प्राविधिक, मन्त्रालयका कर्मचारीसहितलाई लिएर पावर हाउस र छापाखानाको निरीक्षण गरेका थिए । प्राविधिकले समान्य मर्मत समभार गरेको खण्डमा ती समान चलाउन सक्ने भनेपछि मन्त्रालयले त्यसतर्फ अगाडि बढेको हो ।
जचुकालिको पावरहाउसमा विभिन्न पाँच जेनरेटर छ । बिजुली बत्ती गएको बेलामा काम प्रभावित हुने भएकाले प्रदेश सरकारले पावरहाउस लिन लागेको आन्तरिम मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए । जचुकालिको रंगिन छापाखाना लामो समयदेखि प्रयोगविहीन रहेकाले त्यसलाई पनि सञ्चालनका लागि दिन संघीय सरकारसँग आग्राह गरेको छ ।
पावरहाउस र छापाखाना लिनका लागि प्रदेश सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संघको उद्योग मन्त्रालय र नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमासमेत पत्राचार गरिसकेको छ । ‘पावरहाउस र छापाखानाको सञ्चालनका लागि संघीय सरकारलाई आग्रहा गरेका छौँ,' मन्त्री साहले भने, ‘संघीय सरकारले सकारात्मक रुपमा लिएका छन्, संघीय सरकारको मन्त्रिपरिषद विस्तार भएपछि यो प्रक्रिया अगाडि बढ्छ ।’
प्रदेश सरकारको आफ्ना छापाखाना नहुँदा वर्षेनी करोड रुपैयाँ पछाइमा खर्च गर्दै आएकोमा अब आफ्ना छापाखाना भएको खण्डमा प्रदेश सरकारको खर्च कटौती हुने मन्त्री साहले बताए । ‘ चालु आर्थिक वर्षमा प्रदेश सरकारले छापाखानाको लागि बजेट पनि छुट्टाएको छ, मन्त्री साहले भने, 'तर, हाम्रो पहिलो प्राथमिकता जचुकालिको छापाखाना सञ्चालन हो । त्यो सञ्चालन गर्न नसकेको खण्डमा प्रदेश सरकारले आफ्नै नयाँ छापाखाना खरिद गर्छ ।’