चार लाख ४३ हजार नगदसहित सोह्र जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रु चार लाख ४३ हजार ५०३ नगदसहित १६ जना जुवाडेलाई हिरासतमा लिएका छन्।

महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–१४ पुरानो नैकापस्थित शङ्कर थापाको घरबाट जुवा खेलिरहेको अवस्थामा शनिबार राति १६ जनालाई हिरासतमा लिएको हो ।

शनिबार राती पक्राउपर्नेमा चन्द्रागिरिका ३८ वर्षीय नीरञ्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन, ५२ वर्षीय पुष्कर थापा, ४६ वर्षीय पूर्णबहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन विडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा केसी, ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रवीन्द्र थापा, ४३ वर्षीय राजन खत्री, ३६ वर्षीय विश्वासजङ्ग कार्की, ४० वर्षीय सन्जु थापा रहेका छन् ।

यस्तै, चन्द्रागिरिकै ३६ वर्षीय कृष्णबहादुर मगर, नीरञ्जन केसी, ४७ वर्षीय गणेश रसाइली र ४१ वर्षीय शङ्कर थापा रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

प्रहरीले पक्राउ परेकासँग नगद, २० बुक तास र विभिन्न रङ्गका क्वाइन बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.