गठबन्धनमा शीर्ष नेता हावी भए : श्रेष्ठ 

काठमाडौं । नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अघिल्लो सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने गठबन्धन सरकारको निर्णय बेठीक भएको बताएका छन् । 

सामाजिक सञ्जालमा आफ्नो धारणा प्रस्तुत गर्ने क्रममा उपाध्यक्ष श्रेष्ठले गठबन्धन सरकारमा नेतृत्व हावी भएको बताएका हुन् । 

‘प्रतिगमन विरोधी संघर्षको समयमा गठबन्धनका सबै बैठकहरुमा उपस्थित भई छलफल गर्ने अवसर प्राप्त थियो। अनिवार्य जस्तै थियो सहभागिता । संघर्षको सफलतापछि पार्टीहरुको गठबन्धन शीर्षस्थ नेताको गठबन्धन जस्तो बनेपछि भने एकाध बैठकहरुमा मात्र आमन्त्रण अनुसार भाग लिएको छु ।’ सो क्रममा श्रेष्ठले भने, ‘त्यस्तै एउटा बैठकमा मैले अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदूतहरु फिर्ता बोलाउने सकारको निर्णयलाई बेठीक भन्दै असहमति जनाएको थिएँ । मेरो धारणा यस्तो थियो र रहेको छ। संविधान, कानून र लोकतान्त्रिक मूल्य मान्यताविपरीत नियुक्ति गरिएका, अक्षम र व्यवहारमा नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टि भएका राजदूतलाई मात्र फिर्ता बोलाउनु पर्दछ । सबैलाई एकमुष्ट रुपमा होइन । यसो गर्दा हरेक सरकारले अघिल्लो सरकारले गरेका राजदूत फिर्ता बोलाउने परम्परा बन्छ।

त्यस स्थितिमा हामीले पठाएको कुनै देशको राजदूतले पनि राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ । स्थायित्वको आशंकाको कारण सम्बन्धित देशहरुमा काम गर्ने वातावरण बन्दैन। शीर्षस्थ नेताहरुले यो कुरा ठीकै भएपनि निर्णय भैसकेकाले अब छलफल नगरौं भन्नु भयो र त्यो कुरा सकियो।’

सो क्रममा राजदूत फिर्तासँगै पुन: राजदूत फिर्तासँगै भागबन्डाका आधारमा नियुक्ति बढ्ने संकेत गर्दै अब राजदूत नियुक्तिका क्रममा योग्य र सक्षम राजदूत सिफारिस गर्न अनुरोध गरे । 

‘श्रेष्ठले केही संख्या पार्टीहरुको भागबण्डा भन्दा छुट्टै साझा सूची बनाऔँ ।अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान व्यक्तिले राष्ट्र सेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ। त्यो देश र व्यक्ति दुवैका लागि अन्याय हुन्छ ।’ सामाजिक सञ्चालमा श्रेष्ठले भनेका छन्, ‘सामान्य बेलामा अमूर्त राम्रा कुरा गर्ने, तर लागू गर्ने चाँहि स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकाले यसलाई तोड्ने साहास गरौँ ।’

पछिल्लो समय नारायणकाजी श्रेष्ठ गठबन्धनसँग असन्तुष्ट हुँदै आएका छन् । केही समयअघि  राष्ट्रिय सभा बैठकमा पनि उनले नेकपा फुटमा ओली व्यक्तिगत रुपमा मात्रै जिम्मेवार नरहेको बताएका थिए।

© 2021 Quicknepal.com  |  All Rights Reserved.