एजेन्सी ।बार्सिलोनाले नयाँ प्रशिक्षकका रुपमा जाभी हर्नान्डेजलाई सार्वजनिक गरेको छ। घरेलु मैदान नोउ क्याम्पमा आयोजित विषेश कार्यक्रमबीच बार्साले जाभीलाई नेपाली समयअनुसार सोमबार साँझ सार्वजनिक गरेको हो। जाभी बार्सिलोनाको एकेडेमी ला मासियाका उत्पादन तथा क्लबका पूर्व मिडफिल्डर हुन्। बार्सिलोनाका अनुसार जाभीसँग जारी सिजनसहित तीन वर्षका लागि करार सम्झौता भएको छ।
क्लबको खराब प्रदर्शनका कारण बार्सिलोनाले रोनाल्ड कोएम्यानलाई बर्खास्त गरेपछि ४१ वर्षीय जाभीलाई उक्त जिम्मेवारी दिइएको हो। उनी सन् २०१५ मा बार्सिलोना छाडेर कतारी क्लब अल सादमा आबद्ध भएका थिए। सन् २०१९ मा जाभीले खेलाडी जीवनबाट संन्यास लिएपछि अल सादले उनलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको थियो।
उक्त सिजन अल सादले घरेलु लिगको उपाधि जितेको थियो। घरेलु लिगमा अल साद ३६ खेलयता अपराजित रहेको छ। जाभीले खेलाडीका रुपमा बार्सिलोनाबाट ७ सय ७९ खेल खेल्दै २५ उपाधि जितेका छन्।
एक समय विश्व फुटबलमा राज गरेको टिकी टाका शैलीका सदस्य हुन् जाभी। यही शैलीमा खेल्दै स्पेनले सन् २००८ /२०१२ को युरोकप जितेको थियो भने सन् २०१० को विश्वकप पनि। लियोनल मेस्सी, आन्द्रेस इनियस्टा, जाभीसहितको बार्सिलोनाले टिकी टाका शैलीबाट विश्व क्लब फुटबलमा तहल्का मच्चाएको थियो। इनियस्टाले केही वर्षअघि नै संन्यास लिइसकेका छन् भने मेस्सी यसै सिजन बार्सा छाडेर फ्रान्सको पेरिस सेन्ट जर्मनपीएसजीमा आबद्ध भएका छन्।
यो सिजन जाभीका लागि बार्सिलोनाको जिम्मेवारी निकै चुनौतीपूर्ण देखिन्छ। घरेलु लिगमा १२ खेलबाट केवल १७ अंक भएको बार्सा तालिकाको नवौँ स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको रियल सोसिडाडको १३ खेलबाट २८ अंक छ। पछिल्लो खेलमा बार्साले सेल्टा भिगोविरुद्ध ३-० गोलको अग्रता लिएर पनि जोगाउन सकेको थिएन।