अवैध सुपर सरकार आवश्यक छ र ?

सोमबार साझ बसेको पाँच दलीय गठबन्धनको बैठकले दुई/दुई महिनाको रोटेसनका आधारमा नेतृत्व गर्नेगरी ११ सदस्य समन्वय समिति (सुपर सरकार)गठन गरेको छ ।

जसको नेतृत्व हाल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने बताइएको छ । सरकारलाई सहयोगका लागि भन्दै गठन गरिएको समिति ( सुपर सरकार) मा प्रत्येक दलबाट दुईजना रहनेछन् ।

र, सो समन्वय समितिले गठबन्धनलाई व्यवस्थितरुपले अघि बढाउने बताइएको छ । गठबन्धनमा सरकारमा एक मन्त्रीले पनि रहने व्यवस्था छ ।

यसका अलावा समन्वय समितिमा सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसको तर्फबाट सदस्यको रुपमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल र नारयणकाजी श्रेष्ठ एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र अन्य एकजना रहनेछन् ।

त्यसैगरी, समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल रहनेछन् ।
समन्वय समिति गठनको मुख्य उद्देश्य सरकारलाई सहयोग गर्न भनिएको छ। र, सुन्दा राम्रै पनि लाग्छ ।

तर, सरकारको नेतृत्व शेरबहादुर देउवाले गरिरहेका छन् । अहिलेको सरकार नै शेरबहादुर हुन् । सरकारलाई सहयोगका लागि २५ सदस्य मन्त्रिमण्डल गठन गर्ने संवैधानिक व्यवस्था छ । सोहीबमोजिम देउवाले मन्त्रिमण्डल गठन गरेका छन् ।  

आखिरी अहिले सरकारलाई भ्याइनभ्याइ पनि के नै छ र ? कुनै योजना र प्रोजेक्ट पनि सुरु भएको छैन । यदि त्यसो भएमा प्रधानमन्त्रीले सहयोगका लागि उपप्रधानमन्त्रीको व्यवस्था गर्न सक्थे । यी यावत कुरा नभइरहेको अवस्थामा देउवाले किन राजनीतिक दलबाट सुपर सरकार गठन गरे ?

© 2021 Quicknepal.com  |  All Rights Reserved.