पूरा भयो दाहालको उच्चस्तरीय समिति बनाउने अभीष्ट

काठमाडौं । सरकारलाई सहयोग गर्न भन्दै समन्वय समिति गठनसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभीष्ट पूरा भएको छ ।

केपी शर्मा ओलीको सरकार छँदै उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गर्दै आएका दाहालको अभीष्ट सोमबार गठबन्धनको तर्फबाट समन्वय समिति गठन गरेसँगै पूरा भएको हो ।   

दाहालले कोरोना महामारी अर्थात् २०७६ चैत्र ११ पश्चात् २०७७ पुस ५ अघिसम्म उच्च स्तरीय राजनीतिक संयन्त्र गठनको रटान गर्दै आएका थिए ।

जसलाई उनले देउवा सरकार गठन भएपछि उनले केपी ओलीको ‘प्रतिगमन’ विरुद्ध सँगै लडेका दलहरुको सरकार गठन भएकाले यसमा आबद्ध दलहरुको साझा दायित्व रहेको र आगामी चुनावसम्मै गठबन्धन बनाएर लैजाने भन्दै निरन्तरता दिँदै आएका थिए ।

१२ वर्षअघि पहिलोपटक माधवकुमार नेपाल नेतृत्वको सरकार बन्दा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा यस खालको संयन्त्र बनेको थियो । जुन संयन्त्रको मुख्य ध्येय वा कार्यक्षेत्र संविधान निर्माणमा समझदारी जुटाउने थियो ।

त्यसपछि २०७२ असोज २८ मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बन्दा माओवादी अध्यक्ष दाहालकै नेतृत्वमै उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाइएको थियो । तर कतिपय विषयमा सरकारको काममा हस्तक्षेप भएको भनेर ओली र दाहालबीच त्यतिबेला नै मनमुटाव भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.