पिएनजीले टस जित्यो, नेपालले बलिङ गर्ने
आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीमा रहेको नेपाल क्रिकेट टोली र पपुवा न्युगिनी (पिएनजी)बीच आज पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुँदैछ । 

काठमाडौं   ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीमा रहेको नेपाल क्रिकेट टोली र पपुवा न्युगिनी (पिएनजी)बीच आज पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुँदैछ । 

ओमानको अल अमिरात मैदानमा क्रिकेट मैदानमा नेपालले सुरुवातमा बलिङ गर्ने भएको छ ।  पिएनजीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।  पीएनजीले ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा फिल्डिङ गर्ने भएको हो ।

ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले पिएनजीविरुद्ध सिनियर टोलीका लागि डेब्यू गरेका छन् । नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारीलाई आराम दिएको छ । 

दुई खेलको शृंखलामा आज पहिलो खेल हुनेछ । दोस्रो खेल शुक्रबार हुनेछ । 

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो । 

नेपालले त्रिदेशीय शृंखला २८ भदौमा अमेरिका, २९ मा ओमान, १ असोजमा अमेरिका र २ असोजमा ओमानसँग खेल्नेछ । 

नेपालको टोली : ज्ञानेन्द्र मल्ल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख(विकेट किपर), आरिफ शेख, शरद भेषावकर, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सरार्फ, विक्रम सोब र सन्दीप लामिछाने ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.