विगतका वर्षभन्दा यो वर्षमा बालिका माथिको बलात्कार सबै प्रदेशमा बढेका छन् । कोरोना भाइरसका कारण घरभित्रै रहेका बालिकामाथि बलात्कार हुनु सोचनीय विषय बनेको छ । बढिरहेका बलात्कारका घटनामा व्यक्ति दोषी छ कि समाज भन्ने विमर्श हुन जरुरी छ । यसमा व्यक्ति र समाज बराबर दोषी छन् । बलात्कार त व्यक्तिले नै गरेका हुन्छन् तर, यसमा समाज पनि जिम्मेवार छ । र, हरेक बलात्कार पुरुषविना असम्भव छ ।
काठमाडौं । पछिल्लो समय नेपाली समाजमा बलात्कारका घटना बढ्दो क्रममा छ । हाल बलात्कृत हुनेमा केही महिना पुगेकी बालिकादेखि ६० वर्ष नाघेका वृद्धा समेत रहेका छन् । १० वर्षमुनिका बालिका बलात्कारको तथ्याङ्क हेर्ने हो, भने अवस्था डर लाग्दो छ ।
प्रतिनिधि घटना
२०७५ भदौ १० गतेका दिन महोत्तरी, औराहीमा ८ महिने बालिका सोनाली आफ्नै आमा इन्द्रेसको काखबाट हराइन् । इन्द्रेस छोरीलाई सुताएर पसलमा सामान बेच्दै थिइन् । सोही समय एक अपरिचित व्यक्ति सामान किन्न भन्दै उनको पसलभित्र छिरे ।
केही समयपछि ती व्यक्तिले ८ महिने सोनालीलाई खेलाउने भन्दै बोके । इन्द्रेस आफ्नै काममा व्यस्त भइन् । केही समयपछि छोरी खोज्दा न छोरी भेटिन् न ती अपरिचित व्यक्ति नै । छोरी खोजिदिन सबैलाई हारगुहार गरिन् । श्रीमान् सन्तोषलाई पनि फोन गरिन् उनले ।
छरछिमेक र सोनालीका मातापिता छोरीको खोजीमा निस्किए । तर कतै फेला परिनन् । केही बेरअघि काखमा खेलिरहेकी छोरी हराउँदा इन्द्रेस हतासिएकी थिइन् ।
छोरीको खोजीमा हिँडेका सन्तोष भोलिपल्ट छोरीको लास बोकेर फर्किए । आठ महिने छोरी क्षतविक्षत अवस्थामा भेटे उनले । सोनालीको अवस्था हेर्दा ती अपरिचित व्यक्तिले बलात्कारपछि हत्या गरेको प्रष्टै देखिन्थ्यो ।
धनुषा मिथिला नगरपालिकाकी ९ वर्षीया रेश्मा रसाइली बाबु देवनारायण रसाइलीको प्रिय छोरी थिइन् । ३ वर्षदेखि एक्लैले हुर्काउँदै आएका देवनारायणले ९ वर्षकै उमेरमा छोरी गुमाउनु पर्छ भनेर कहिल्यै कल्पना समेत गरेका थिएनन् । तर, २०७५ फागुन १ गते राती छेउमा सुतेकी छोरी गाउँ नजिकैको उखु बारीमा आधा जलेको अवस्थामा फेला पारे देवनारायणले । यत्तिका वर्षसम्म मजदुरी गरेर हुर्काएको छोरीलाई यस्तो अवस्थामा भेटाउँदा आफूलाई सम्हाल्न सकेनन् उनले ।
प्रहरीले घटनाको छानविन गर्दा रेश्मामाथि बलात्कार भएको भेटियो । सोही क्रममा रेशमाको बलात्कारी पनि पक्राउ पर्यो । चाउचाउको प्रलोभन देखाएर बलात्कारीले रेशमालाई गाउँ नजिकैको उखु बारीमा लगेर जलाएर हत्या गरेको प्रहरीको बयानमा उल्लेख छ ।
महोत्तरी बर्दिबासकी ६ वर्षीया गुलाब शाहको अपहरणपछि बलात्कार गरी हत्या भयो । चक्लेट किन्न गएकी गुलाबलाई पसले अरुण साहले अपहरण गरी बलात्कार गरेका थिए । अपहरण गरेको भोलिपल्ट गुलाबको शव गाउँ नजिकै बोरामा हालेर फालिएको अवस्थामा भेटिएको थियो । आरोपित अरुणले पक्राउ परेलगत्तै अरोप स्वीकार गरेका थिए ।
५ वर्षमा ४ सय ४५ बालिका बलात्कृत
प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार नेपालमा १० वर्षमुनिका ४ सय ४५ बालबालिका वार्षिक रुपमा बलात्कारपछि हत्या भएको छ । अन्य घटनाभन्दा बलात्कारका घटनालाई प्रहरीले विशेष प्राथमिकताका साथ हेर्ने गरेको नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेल बताउँछन् । उनका अनुसार नेपालमा दैनिक सरदर ६ वटा बलात्कारका घटना हुने गरेको छ ।
घटना बाहिर ल्याउदा समाजमा आफ्नो व्यक्तित्वमा प्रश्न उठ्ने सोचले गर्दा घटनाहरु बाहिर आएका छैनन्, उनी बताउँछन् ।
साना बालिकालाई सजिलै ललाई फकाई गर्न सकिने, लोभ्याउन सकिने, तर्साउन र नियन्त्रणमा राख्न सकिने भएकोले पनि बलात्कार हुने गरेको पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरीको भनाई छ ।
उनका अनुसार विश्व परिवेशमा हेर्ने हो, भने ८० प्रतिशत बालिका आफ्नै आफन्त, नाता, छरछिमेक र चिनेजानेकाबाट बलात्कृत हुने गरेका छन् । बाँकी २० प्रतिशत मात्रै नचिनेको मान्छेबाट बलात्कार हुने गरेको मल्ल बताउँछन् ।
८० प्रतिशत चिनेकै मान्छे हुने भएकोले घटना बाहिरिने डरले बलात्कारपछि हत्या गर्ने गरेको उनको भनाई छ । साथै केही घटना भने परिवारको बेइज्जत हुने, छोरीको विवाह नहुने जस्ता सामाजिक डरका कारण नखुल्ने गरेको उनी बताउँछन् ।
बदलिँदो समाजसँगै नैतिक शिक्षाको कमीका कारण यस्ता घटना बढ्दै गइरहेको छ । यी घटनालाई नियन्त्रण गर्न भने आमा बाबुले विशेष ख्याल राख्नु पर्ने हुन्छ । यसका साथै विद्यालय स्तरमै कस्ता खालका व्यवहारलाई यौन दुर्व्यवहार मान्ने ? भन्ने बारे शिक्षा दिनु विद्यालयको जिम्मेवारी रहेको हुन्छ ।
विगतका वर्षभन्दा यो वर्षमा बालिका माथिको बलात्कार सबै प्रदेशमा बढेका छन् । कोरोना भाइरसका कारण घरभित्रै रहेका बालिकामाथि बलात्कार हुनु सोचनीय विषय बनेको छ । बढिरहेका बलात्कारका घटनामा व्यक्ति दोषी छ कि समाज भन्ने विमर्श हुन जरुरी छ । यसमा व्यक्ति र समाज बराबर दोषी छन् । बलात्कार त व्यक्तिले नै गरेका हुन्छन् तर, यसमा समाज पनि जिम्मेवार छ । र, हरेक बलात्कार पुरुषविना असम्भव छ ।