काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एकदिन पनि परिवर्तन नहुने बताएका छन् ।
बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न सो क्रममा उनले आग्रह गरे ।
नेता सिटौलाले भने, ‘२७ गतेबाट बाँकी रहेका वडा अधिवेशनहरू सम्पन्न गरेर मंसिरको २७ गते पार्टीको केन्द्रित पदाधिकारी हामीले निर्वाचित गर्नुछ । अत्यन्तै छोटो कार्यतालिका छ । अत्यन्तै साँघुरो कार्यतालिका छ । तर एकदिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन । यसलाई हामीले सफल बनाउनुछ, सबैले मिलेर । तर प्रतिस्पर्धा गर्नुछ । स्वच्छ प्रतिस्पर्धा गर्नुछ । आन्तरिक लोकतन्त्रको अभ्यास दिल खोलेर गर्नुछ । र प्रतिस्पर्धापछि पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर पनि देशप्रति समर्पित पार्टीको रुपमा नेपाली काँग्रेसलाई उतार्नुछ ।’