बालबालिकालाई दुई चरणमा खोप लगाउने सरकारको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई खोप लगाउने तयारी गरेको छ ।

मन्त्रालयका अनुसार सरकारले बालबालिकालाई दुई चरणमा फाइजर खोप लगाउने तयारी गरेको हो । 

पहिलो चरणमा २८ कात्तिकदेखि ४ मंसिरसम्म  र दोस्रो चरणको खोप २७ मंसिरदेखि २ पुससम्म फाइजर खोप लगाउने तयारी भइरहेको छ । 

१२ वर्षभन्दा माथिका बालबालिकालाई दुई चरणमा खोप लगाइन तयारी गरिएको मन्त्रालयले जनाएको छ।

बालबालिकासँगै दीर्घरोगीलाई पनि फाइजर खोप लगाइने भएको छ। मुटुको शल्यक्रिया गरेका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलासिस गरिरहेका वा औषधि सेवन गरिरहेका व्यक्तिले फाइजर खोप लगाउन पाउने भएका छन्।

त्यस्तै, क्यान्सरका उपचार गराइरहेका, फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका व्यक्तिलाई पनि फाइजर खोप लगाइनेछ।

यससँगै रोग प्रतिरोधात्मक क्षमता कम भएका, मस्तिष्क र मस्तिष्कको रक्तनली सम्बन्धी रोग भएका व्यक्तिलाई पनि फाइजर खोप लगाउन स्वास्थ्य मन्त्रालय अनुरोध गरेको छ। खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी कागजपत्र बोकेर जानुपर्नेछ।

यसका लागि स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा खोप केन्द्र तोकेको छ। सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.