यस वर्ष पनि सरकारले सर्वोकृष्ट कर्मचारी भेट्टाएन
बर्सेनि एक जनालाई सर्वोकृष्ट पुरस्कार प्रदान गरेपछि दिवस मनाउन थालिएको १७ वर्ष पूरा भए पनि अहिलेसम्म चार जना मात्र कर्मचारीले उक्त पुरस्कार पाएका छन् ।

काठमाडौं । सरकारले यस वर्ष पनि निजामती सेवामा काम गर्ने राम्रो कर्मचारी फेला पार्न सकेन । हरेक वर्ष एक जना कर्मचारीलाई सर्वोकृष्ट निजामती सेवा पुरस्कार प्रदान गर्दै आएको सरकारले यस पटक पनि कोही कर्मचारी फेला पार्न नसकेको हो ।

 आज (मंगलबार) देशभरि ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका साथ दिवस मनाइँदै छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १० जनालाई उत्कृष्ट निजामती सेवा र ३० जनालाई निजामती सेवा पुरस्कार दिने निर्णय गरेको छ । तर, सरकारले यस वर्ष पनि सर्वोकृष्ट कर्मचारी फेला पार्न सकेन । 

सर्वोकृष्ट कर्मचारीले नगद दुई लाख रुपैयाँसहित पुरस्कार पाउने गरेका छन् ।

दिवसकै अवसरमा सरकारले बर्सेनि सर्वोकृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आइरहेको छ ।

बर्सेनि एक जनालाई सर्वोकृष्ट पुरस्कार प्रदान गरेपछि दिवस मनाउन थालिएको १७ वर्ष पूरा भए पनि अहिलेसम्म चार जना मात्र कर्मचारीले उक्त पुरस्कार पाएका छन् ।

अहिलेसम्म भगवतीकुमार काफ्ले, सूर्य गौतम, शान्तराज सुवेदी र भाइकाजी तिवारीले मात्र सर्वोकृष्ट निजामती पुरस्कार पाएका छन् ।

पूर्वसचिव गोपी मैनालीले राम्रो काम गरेको एक जना कर्मचारी सरकारले नपाउनु दुर्भाग्य भएको बताए । नेपालका कर्मचारी सेवामुखी भन्दा पनि प्रक्रियामुखी बढी भएको आरोप लाग्ने गरेको छ । उनीहरूलाई जनताको सेवा कसरी गर्नुपर्छ भन्नेमा भन्दा चाकडी र जागिरमुखी भएर काम गरिरहेका छन् ।

२२ भदौ २०१३ मा पहिलो निजामती सेवा ऐन जारी गरिएका दिनको सम्झनामा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.