काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान हटाउने कल्पनासमेत गर्न नसकिने बताएका छन् ।
बिहीबार गृह जिल्ला इलाममा आयोजित कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेम्वाङले यस्तो बताएका हुन् ।
‘यो संविधान लरतरो रूपमा हटाउने कल्पना समेत हुँदैन,’ नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले भने, ‘संविधान फेर्ने चासचुस चर्चा हुन थालेको छ, त्यस्तो चर्चाको कुनै तुक छैन ।’
नेम्वाङले नेपालको अहिलेको संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पनि तलमाथि नहुने दाबी गरे । ‘कसैलाई केही भइहाल्छ भन्ने चिन्ता लागेको छ भने चिन्तामुक्त हुन आग्रह गर्छु,’ नेम्वाङले भने ।
संविधानसभामा उपस्थित ३१ दलबाट संविधान बनाउन अनेक अप्ठयारो झेलेको भए पनि संविधान संशोधनमार्फत यसलाई सबै दलले स्वीकार गरेको नेम्वाङको भनाइ छ ।