एक वर्षमा ७५ लाख २० हजार ३४ जनाले मात्र पाए पूर्ण खोप

नेपालमा कोरोना संक्रमणको दर दिन प्रतिदिन घट्दै गइरहेको छ । कोरोनासम्बन्धी सचेतना र खोप अभियानका कारण नेपालमा कोरोना महामारी नियन्त्रणमा सहज भएको हो ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि सरकारले कोरोनाविरुद्धको खोप खरिद र अनुदानबाट प्राप्त गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा भेरोसेल, एस्ट्रोजेनेका, कोभिशिल्ड र जोन्सन्स खोप प्रयोगमा आएका छन् ।

कति डोज खोप आयो ?

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालले भारत, चीन,बेलायत, जापान, भुटान, स्वीजरल्याण्ड, अमेरिका र विश्व स्वास्थ्य संगठनबाट कुल दुई करोड २२ लाख २० हजार ९३० डोज खोप प्राप्त गरेको छ ।

अनुदानमा कोरोना खोप

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समीर अधिकारका अनुसार नेपालले हासम्म ९२ लाख ९३० डोज कोरोना खोप अनुदानस्वरुप पाएको छ । ‘जसमध्ये भारत सरकारबाट १० लाख, चीनबाट १८ लाख, भारतीय आर्मीले नेपाल आर्मीका लागि एक लाख र कोभ्याक्स माध्यमबाट अमेरिकी सरकारबाट १५ लाख ३४ हजार ८५० डोज खोप प्राप्त भएको छ,’अधिकारीले भने ।

नेपाललाई कोरोना खोप अनुदान दिनेमा जापान, बेलायत, भुटान, माल्दिभ्स, स्वीस सरकार पनि रहेको अधिकारीले जानकारी दिए ।
त्यसैगरी,कातिक २५ मा नेपाल सरकारले स्वीस सरकारबाट एक लाख ४० हजार डोज खोप अनुदानस्वरुप प्राप्त गरेको छ । योसँगै नेपालले अनुदानस्वरुप कुल ९२ लाख ९३० डोज प्राप्त गरेको छ ।

कति डोज खरिद ?

हालसम्म नेपाल सरकारले एक करोड ३० लाख डोज खोप खरिद गरेको छ । मन्त्रालयका अनुसार भारत, चीन सरकारसँग नेपालले २० लाख डोज खरिद गरेको हो ।

हालसम्म कतिले लगाए खोप ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार (कातिक २६) सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म पहिलो मात्रा खोप लगाउनेको संख्या ८८ लाख ११ हजार ३३२ पुगेको छ ।
यसैगरी ७५ लाख २० हजार ०३४ जनाले पूर्ण खोप लगाएका छन् । नेपालमा खोप अभियान सुरु भएदेखि हालसम्म कुल एक करोड ६३ लाख ३१ हजार ३६६ मात्रा खोप लगाइसकेका छन् ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार हाल नेपालको कुल जनसंख्या तीन करोड तीन लाख ७८ हजार ५५ छ ।

उल्लेखित तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा करिब एक तिहाइ जनसंख्याले मात्र कोरोना खोप लगाएका छन् । नेपाललाई कोरोनाको जोखिमबाट जोगाउने हो भने अब दुई तिहाइ जनसंख्याका लागि खोपको व्यवस्था गर्नुपर्छ ।

२०७६ सालमा मन्त्रिपरिषद्ले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपाचार कोष स्थापना गर्न अध्यादेश जारी गरेको थियो । उक्त अध्यादेशअनुरुप तयार भएको निर्देशिकाका आधारमा कोरोना भाइरस उपचार नियन्त्रण कोष सञ्चालनमा आएको थियो । सो कोषमा रकम पनि जम्मा भएको थियो ।

तर, हाल सो कोष निष्क्रिय रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । तर, ०७६ मा बनेको निर्देशिकाकै आधारमा पुनः सो निर्देशिका जारी गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमण सुरु भएको करिब दुई वर्ष बित्न लागेको छ । तर, सरकारले नेपालमा कोरोना संक्रमित पहिचान भएको लगभग एक वर्षपछि अर्थात् २०७७ माघबाट कोरोना खोप अभियान सुरु भएको थियो । हालसम्म मुस्किलले एक तिहाइले मात्रै खोप लगाएका छन् । यो अवस्था हेर्ने हो भने नेपालको कुल जनसंख्याले खोप प्राप्त गर्न अझै दुई वर्ष लाग्ने देखिन्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.