हुम्लामा तीन दिनमा एक सय ८२ जनालाई नागरिक्ता वितरण
यसैगरी, १५ वटा नाबालक परिचयपत्र र पाँचवटा अन्य सिफारिस वितरण गरिएको छ ।

सुरेस परियार 
हुम्ला । सर्केगाड गाउँपालिकाको इलाका प्रशासन कार्यालयमा यतिबेला नागरिकतालगायतका सिफासिस लिने सेवाग्राहीको भिड लाग्ने गरेको छ । शनिबारदेखि सोमबारसम्म एक सय ८२ जना नागरिकता लिएको इलाका प्रशासन कार्यालयका प्रमुख भीमबहादुर रोकायाले जानकारी दिए ।

१९ भदौबाट दोस्रोपटक नागरिकता वितरण गर्न थालेको प्रशासन कार्यालयले एक सय ६२ वटा नयाँ र २० वटा नागरिकताको प्रतिलिपि वितरण गरेको उनको भनाइ छ ।

जिल्लाको दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकाका नागरिकलाई लक्षित गरी स्थापना भएको इलाका प्रशासन कार्यालयमार्फत अदानचुली ताँजाकोट, चंखेली र सर्केगाड गाउँपालिकाका एक सय ८२ जना नागरिकले नागरिकता लिएको प्रमुख रोकायाले जानकारी दिए ।

उनका अनुसार तीनवटा गाउँपालिकाका नागरिक इलाका प्रशासन कार्यालय सर्केगाडमा पुगेर सेवा लिए पनि ताँजाकोट गाउँपालिकाका नागरिक अहिलेसम्म सेवा लिन आइनपुगेको उनको भनाइ छ ।

यसैगरी, १५ वटा नाबालक परिचयपत्र र पाँचवटा अन्य सिफारिस वितरण गरिएको छ । इलाका प्रशासन कार्यालय सर्केगाडबाट सेवा दिन सुरु भएपछि दक्षिणी भेगका नागरिकले आफूहरुलाई सदरमुकाम सिमकोट पुग्नुपर्ने बाध्यता हटेको स्थानीयले बताउने गरेका छन् ।

यसअघि दक्षिणी भेगका नागरिकले तीन–चार दिनसम्म हिँडेर सिमकोट पुगी नागरिकता लगायत अन्य प्रशनसनिक सेवा लिनुपर्ने बाध्यता थियो । सात दिनभन्दा बढी लाग्ने सेवा एक दिनमै लिन पाउँदा खुसी लागेको सर्केगाड ४ का कविन्द्र शाहीले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.