काठमाडौं । नेपाली कांग्रेसमा विवाद चर्किदै गएको छ । नेपाली कांग्रेसले आफ्नो महाधिवेशनका लागि क्षेत्र र जिल्लामा अधिवेशनहरु गरिरहेको छ । स्थानीय तहको अधिवेशनमा केही जिल्लामा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्षिय नेता कार्यकर्तालाई लिएर एकपक्षिय रुपमा अधिवेशन गर्दा विवाद शुरु भएको देउवाइतर समूहको दावी छ ।
प्रधानमन्त्री देउवाकै गृह जिल्ला डडेलधुरामा भएको स्थानीय तहको अधिवेशन विवादित भएको कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताउँदै आएका छन् । डडेलधुराको विवाद डडेलधुरामा मात्र सिमित भएन, नेता कार्यकर्ताहरु केन्द्रीय कार्यालयमै आएर अनसन बसिरहेका छन् ।
केन्द्रीय कार्यालयमा रौतहत र डडेलधुराका नेता कार्यकर्ताको अनसन जारी रहेपछि कांग्रेस केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा जारी छ । बरिष्ठ नेता पौडेलले सभापति कार्यकर्ताबाट भागिरहेको आरोप लगाएका छन् । बैठकको शुरुवातमा नेता पौडल र प्रधानमन्त्री देउवाबीच चर्काचर्की भएको थियो ।
समस्या समाधान गरेर सबै विवाद टुंगाउन नेता पौडेलले आग्रह गरेपछि प्रधानमन्त्री देउवाले हस् हुन्छ पास भनेका थिए । त्यसपछि आक्रोसमा आएका नेता पौडेलले सधै पास–पास कै भरमा पार्टी नचल्ने भन्दै विरोध गरेको बैठकमा सहभागी एक नेताले क्विक नेपाललाई बताए ।
केन्द्रीय कार्यालयबाट भागेर सभापतिको निजी निवसामा जारी बैठकले सातै प्रदेशमा अधिवेशन गर्न जिम्मेवारी तोकिएको छ । कांग्रेसले चौधौं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ । यस्तै सातै प्रदेशमा जिम्मेवारी पाउनेहरुमा प्रदेश १ बाट कृष्णप्रसाद सिटौला, प्रदेश २ बाट रमेश रिजाल, वागमतीबाट प्रकाशमान सिंह, गण्डकीबाट गोपालमान श्रेष्ठ, लुम्बिनीबाट बालकृष्ण खाण, कर्णालीबाट जीवनबहादुर शाही र सुदूरपश्चिमबाट दिलेन्द्रप्रसाद बडु रहेका छन् ।